Logo
Logo

मण्डलेलाई सूर्य चिन्ह दिने ओलीले फूर्ति नलगाए हुन्छ



नीति, सिद्धान्त र क्रान्तिकारी बाटोबाट विचलित भएपछि जे गर्दा आम मानिस लाई झुक्याउन सकिन्छ, लोकतन्त्रको नाममा त्यही गर्नु ठालूहरूको विशेषता बनेको छ ।

साम, दाम, दण्ड र भेदलगायत सबै कुरा उपयोग गरेर राज्यको ढुकुटीमा हैकम जमाउने उत्तर प्रदेशीय संसदीय शैली हामीकहाँ पनि अभ्यास भइरहेको छ ।

वास्तवमा, मानिसलाई निर्वाचन चिन्हलाई नै सबैभन्दा प्यारो हुने झै गरी हल्लाखोर मच्याइ राखिएको छ । यो धन्दामा सूर्य चिन्ह र यसका मूली खड्गप्रसाद ओली एक कदम अगाडि देखिएका छन् । तामझामपूर्ण सभा समारोह, दान दातव्य र १०१ किलोका माला पहिरिएर ओली देश दौडाहमा हिंडिरहेका छन् ।

वास्तवमा, चुनाव चिन्ह आफैँमा केही होइन, मत प्रकट गर्ने माध्यम मात्र हो । पुरानो घोषणापत्र पल्टाएर हेर्दा एमालेले जनतासामू गरेका वाचाहरूको एक छेउ पनि पूरा गरेको छैन ।

वडादेखि केन्द्रसम्म भ्रष्ट ठेकेदार, बिचौलिया व्यापारी र दलाल पूँजीपतिको कब्जामा पार्टी पुगेको छ । इमानदार र अनुशासित कार्यकर्ता धमाधम नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दैछन् । माधवकुमार नेपालहरूले विद्रोह गरेर अलग पार्टी भएपछि खड्गप्रसाद ओली गुटको पूर्णत निद हराम भएको छ । र, को ठिक हो भन्ने कुराको फैसला गर्ने दिन नजिकिँदैछ ।

ओली गूट पो वास्तवमा सनातन धर्म संस्कृतिको वध गर्न उद्यत रहेछ । नत्र एकनाथ ढकालजस्ता क्रिश्चियन धर्म प्रचारकलाई सूर्य चिन्ह दिएर किन चुनाव लडाउँथे ? नेल लगाएर गोलघरभित्र कैद गर्नुपर्ने कमल थापालाई ऋषि आजादहरुको रगतले पोतिएको सूर्य चिन्ह दिने ओलीले अब फूर्ति नलगाए हुन्छ ।

अस्तिसम्म हामी एक्लै बहुमत ल्याएर देखाईदिन्छौं भनेर बर्बराउने ओली गुट अहिले कमल थापाजस्ता मण्डलेको पाउमा सूर्य चिन्ह चढाउन पुगेको छ । नेपालमा क्रिश्चियन धर्मको प्रचारका निम्ति विदेशी क्रिश्चियनहरूको पैसामा राजनीति गर्ने एकनाथ ढकालहरू अब सूर्य चिन्हका हकदार भएका छन ।

थापा र ढकालसँग नारिएर पार्टीमा त्यत्रो लामो इतिहास बोकेका माधवकुमार नेपाल जस्ता इमान्दार नेताहरूलाई धारे हात लगाएर ‘कुहेर फतक्क गलोस भनेर’ गाली गर्न कसरी सक्छ दुई–दुई पटक प्रधानमन्त्री भइसकेको एउटा ब्यक्तिले ?

हिजोसम्म माधवकुमार नेपाललाई होली वाइनको विशेषण दिएर आफ्ना कार्यकर्तामार्फत सुनियोजित हमला गर्ने ओली गूट पो वास्तवमा सनातन धर्म संस्कृतिको वध गर्न उद्यत रहेछ भन्ने कुरा बल्ल आएर जनताले थाहा पाए । नत्र एकनाथ ढकालजस्ता क्रिश्चियन धर्म प्रचारकलाई सूर्य चिन्ह दिएर किन चुनाव लडाउँथे ?

मुलुकमा न्याय हुन्थ्यो भने गणतन्त्र प्राप्तिको निम्ति सडकमा उत्रिएका परिवर्तनकारी जनतालाई गोली हान्ने कमल थापा आजीवन कारावासको सजायका भागी हुन्थे । नेल लगाएर गोलघरभित्र कैद गर्नुपर्ने कमल थापालाई ऋषि आजादहरुको रगतले पोतिएको सूर्य चिन्ह दिने ओलीले अब फूर्ति नलगाए हुन्छ ?

एमालेका अगुवा नेता, कार्यकर्ताहरूदेखि सबैले यो गठबन्धनको सरकारलाई परमादेशी सरकार भनेर आलोचना गरेका छन् । हरेक पटकका छुद्र भाषणहरूमा ओली पनि यही कुरा भनिरहन्छन । ओलीशैलीको नक्कल तलका कार्यकर्ताले गर्ने नै भए, सबका सब छुद्रताको अन्तिम हदसम्म ओर्लिएर असहमत विचारहरूको प्रतिवाद गरेको पाइन्छ । सभ्य र सुसंस्कृत दलका नेता, कार्यकर्ताले असहमत विचारको पनि सम्मान गर्न सिक्नुपर्छ ।

आफू अग्लो हुन अरुको खुट्टा काटेर होचो बनाइदिने कुकृत्य कसैले नगरे हुन्छ । जनतालाई एक आपसमा लडाएर, अरुमाथि छुद्र वचन बोलेर र बहुमत भएका ठाउँमा अल्पमतलाई उठिबास लगाएर शासन गर्ने उदण्डहरूमा अहिले पैसावाल दलालहरूको हालीमुहाली भइरहेको छ ।

बिहारी राजनीतिको उपक्रमको असली अनुयायी कम्युनिष्ट नामधारी ओली गुटको झुण्ड भएको छ । जबकि, माओवादी र एमालेलाई अलग गराएर माग्दै नमागेको आदेशले नै एमालेको पुनःजन्म भएको हो ।

ओली पकेटको निर्वाचन आयोग ओलीको चाहनाअनुसार हरेक गैरकानूनी कदमलाई समेत सदर गर्दै अगाडि बढेकै हो । निर्वाचन आयोगलगायत हरेक संवैधानिक आयोगमा कठपुतली उभ्याएर तान्डव नृत्य मच्चाउने ओली गुट नै वास्तवमा परमादेशी हो ।

सत्तामा छंदा मुलुकको अर्थतन्त्रको के हाल गरिएको रहेछ भन्ने अहिले देखिएकै छ । मुलुक श्रीलंका हुन लाग्यो भनेर स्याल हुइयाँ पिट्ने यिन स्याल हुन् । अहिले फेरि ओली गुटले आफ्नो कर्तूत लुकाउन निकै जोडसँग चिच्याइरहेको छ ।

एकै रातमा यो मुलुक टाट पल्टेको होइन । मुलुकको करोडौं रुपियाँ लगानी गरेर बाँचेका खड्गप्रसादले आफ्ना कार्यकर्ता पोस्न र चुनावमा करोडौं रुपियाँको खोलो बगाएर जसरी पनि जित्न गरेका हरेका अधमहरू पनि मुलुकको अर्थतन्त्र खोक्रो बनाऊन जिम्मेवार छन् । नत्र सर्वहारा हुँ भन्ने ओलीसँग लाखौँका दान दिने पैसा र हेलिकोप्टरमा मुलुक घुम्ने पैसा कहाँबाट आयो ?

एमालेमा प्रतिप्रश्न गर्नु अपराध हो । प्रश्न गर्नुपर्छ भन्ने दश भाइहरूको हरिविजोग भएको सबैले देखेकै छन् । ओलीको जुवामुनि नारिन नचाहनेहरू पनि यो मुलुकमा गरीखाने वर्गको हित सोच्ने छन् । मण्डले कमल थापासँग अंगालो हालेर हिजोका साथीहरूको बदनाम गर्न कम्मर कसेर लागेको ओली गुटलाई परास्त गर्नु वास्तवमा अग्रगमन हो ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्