Logo
Logo

गठबन्धनका उम्मेदवारकाे प्रतिवद्धता : सुविधा सम्पन्न अस्पताल, भ्रष्टाचारमुक्त महानगर



पोखरा । सत्ता गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पाँच वर्षभित्र पोखरा महानगरमा सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिवद्धता गरेका छन् ।

चुनावी आमसभाअन्तर्गत वडा १९ पुगेका आचार्यले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष महत्व दिने बताए । ‘पोखरा महानगरका मेयर मानवहादुर जिसी बिरामी हुँदा पोखरामा राम्रो उपचार गर्ने अस्पताल नहुँदा झन्डै ज्यान गएन,’ उनले भने, ‘हेलिकोप्टरबाट काठमाडौं लगेर बचाउन सफल भएको घटना ताजै छ फेरि पनि त्यस्तो समस्या नआउने गरी सुविधा सम्पन्न अस्पताल यहाँ जरुरी छ ।’

उनले पहाडी भूभागमा पूर्वाधारको क्षेत्रमा प्राथमिकता दिइने बताए । विकासमा सूचांकमा ध्यान दिँदै भ्रष्ट्रचारमुक्त महानगर बनाउने प्रतिबद्धता उनले मतदातासँग व्यक्त गरे ।

‘स्थानीय स्रोत, साधन प्रयोग गर्दै प्रदेश, केन्द्र सरकारसँगै अन्य दातृ निकायसँग सहकार्य सहकार्य गर्छाै,’ उनले भने, ‘१९ नम्बरबाट सिक्लेस पुग्ने पदमार्ग स्तरोन्नोति गरिनेछ । पोखरामा एक घर, एक धाराअन्तर्गत खानेपानी पु¥याउनेछौँ ।’

पुरुन्चौरमा रहेको कृषि क्याम्पसलाई थप परिमार्जित गरी आवश्यक विज्ञ उत्पादन गर्ने थलोको रुपमा विकास गर्न पहल गर्ने आचार्यले बताए ।

उपमेयर पदका उम्मेदवार कोपला रानाभाटले विकास खोजेको वडामा नेकपा एमाले नेतृत्वको सरकार हुँदा विकासको कुनै अनुभूति नपाएको दावी गरिन् । ‘हामीलाई जिताउनुस् महानगरको महसुस गर्न नसकेका वडालाई प्राथमिकतामा राख्नेछौं,’ उनले भनिन, ‘पोखराका विभिन्न ठाउँमा थुप्रै समस्या छन् । समस्या समाधान गर्नका लागि गर्छाै ।’

पोखरा १९ मा वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डेले इमान्दारीपूर्वक पाँच वर्ष जनताको माझमा रहेर काम गर्ने बताए । ‘आफ्नो क्षमताले भ्याएसम्म दिगो विकासका लागि केन्द्रित हुनेछु,’ उनले भने, ‘यो बनाउँछु, त्यो बनाउँछुभन्दा पनि यहाँको समग्र विकास गर्नेछु । यहाँ धेरै विकास, निर्माणका सम्भावनाहरु छन् ।’

पुरन्चौरका स्थानीय बाटु नेपालीले नयाँलाई मौका दिने बताइन् । यसअघि एमालेलाई दिएको भोट काम नलागेको उनले सुनाइन् । ‘फेरि पनि उहीँ केही काम नगर्नेहरु भोट माग्दै आउँछन् । अब नयाँलाई दिने हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्