Logo
Logo

प्रतिकात्मक रुपमा बालेनको आगमन



डा. उषा लोहनी, मेरी श्रीमती । दुई हातमा दुइटा कप बोकेर छिरिन् । म कम्प्युटरमा बिहानको खबर पढ्दै थिए ।

चिया टेबलमा उनीले राखेर भन्दै गइन्– ‘गजब लाग्यो मलाई त । कहिल्यै नचिनेको, नाम नै नसुनिएको एउटा मान्छे । शुद्ध एउटा मान्छे । न कुनै दल, न कसैसँग कल । न तामझाम, न दाम, न वाम, न राजनीतिक व्यायाम । तर काठमाडौँको आकाश उसैको गीत गुञ्जायमान छ, एउटै स्वरमा ।’

उनी पेसाले त्रिभुवन विश्वविद्यालयको प्राध्यापक, निवर्तमान । तर सोखले गायिका, अझै गीत रेकर्डिङ गरिरहेकी छिन् । गायिका भएर होला गीतको कुरा गरेकी जस्तो लाग्यो मलाई । आकाश नै गुञ्जायमान गर्ने कस्तो गीत रहेछ । जिल्ल परे म ।

उनको स्वभाव हाइपरवलिक अर्थात् कुरालाई बढाइ चढाइ गर्ने नभएकोले म झन् जिल्ल परे । के हो यो आकाश नै गुञ्जायमान ! अलि अधैर्य भए, तर आँखा कम्प्युटरमा गाडेर सोधे– होइन, के भनेको यो आकाश गुञ्जायमान ।

‘त्यो गीत नसुनेको अहिलेसम्म । त्यो त अग्र्यानिक कम्पोजिसन छ’, उनले अझ थपिन् । म थप रनभुल्लमा परे । मेरो त्यो हाल देखेपछि उनले गीत सुनाइन् सडकमा गाउने जस्तै गरी जोस भरिकन गाएर
‘सागर, वसन्ते, किस्ने
बालेनले हो जित्ने’

बल्ल मैले कुराको चुरो भेट्टाए । त्यो त मैले पनि सुनिरहेको हो । टोल टोलमा, झुन्ड, झुण्डमा यो गीत सुनिन्छ, एउटै छन्दमा । यसको कम्पोजिसन मलाई पनि राम्रो लागेको हो ।

कसरी वर्णन गर्ने यसलाई ? उनले भनेजस्तै मलाई पनि लाग्छ यो एउटा अग्र्यानिक कमोजिसन हो । मुलुक हारिनै सकेको छ आज जताततैको बेथिति र लुटपाटबाट ।

आजको यो अवस्थाबाट मुलुकले कसरी मुक्ति पाउने ? मुलुक यसरी हार्दै जान त सक्तैन । यो त हामी सबै नेपालीको सामूहिक अभिव्यक्तिको थलो हो । हाम्रो इज्जत र स्वाभिमान हो ।

कुनै बेला चीनमा अफिम ख्याएर नचाएको जस्तो नेपालीलाई ठालुहरूले डलर खाएर नचाउँदै जान त भएन । त्यसैले अब नेपालमा वसन्ते र किस्नेले जित्नु पर्याे । बालेन प्रतिनिधि पात्र बनेर उद्घोष गरेको छ यस जितको । अर्थात्, मुलुकले जित्नै पर्ने नयाँ सुरुवातको ।

बालेन उठेका छन् हुरी बनेर प्रतिकात्मक रूपबाटै किन नहोस् यी कुहिएका पतिंगरहरूलाई बढार्ने सुरुवात बोकेर । त्यसबाट राजनीतिक मठाधीशहरू डराएका छन् । त्यसैले कोही नानीमैयाँको कुरा गर्छन् त कोही दललाई बाइपास गर्ने रिमोट कन्ट्रोलको ।

हो, नानी मैयाँलाई काठमाडौँको जनताले पञ्चायतकालीन सर्वोच्च विधायिका राष्ट्रिय पञ्चायतमा सन् १९८१ मा जिताएका थिए । त्यो पनि घगडान जोगमेहर श्रेष्ठलाई पराजित गरेर । यो एउटा निर्णायक सन्देश थियो जनमत संग्रहपछिको ।

केन्द्रीकृत शासनबाट विरक्त भएका थिए काठमाडौँको सचेत मध्यम वर्ग । तर शासकहरूले बुझ्न सकेनन् । यो नितान्त एउटा नकारात्मक अभिव्यक्ति थियो मतदाताहरूको शासकहरूलाई सचेत गराउने ।

आजको अवस्था त्यो भन्दा धेरै फरक छ । अजय शक्ति नै जनता । यसको मर्म बुझ्न श्रीलंकाको जनताले दिएको प्रत्यक्ष प्रमाण हेक्का राखे पुग्छ ।

अंग्रेजीमा एउटा कहावत छ– एकातिर गहिरो निलो समुद्र र अर्कोतिर दानव उभ्भिएपछि कता जाने ? जुन जोगी आए पनि कानै चिरेको भन्ने हाम्रो उखानलाई चरितार्थ गर्दै आएका छन् अहिलेका शासकहरू ।

नेपाली जनतालाई हिजोको विकल्परहित अवस्थाबाट आजको अघोषित तर ज्यादै खतरनाक विकल्परहित अवस्थामा जसरी ल्याए नयाँ शासकहरूले त्यसबाट आत्तिएका, टोलाएका, बिदेसिन बाध्य पारिएका नेपाली जनताहरू अहिले मनमा सिंगो ज्वालामुखी निलेर बसेका अवस्था छ ।

निर्वाचन भनेको दुई या तीनमध्ये कम पापी या दुष्कर्मीलाई छान्ने जस्तो अवस्थामा शासन पद्धति रूपान्तरण भएको छ । यो अवस्थामा बालेनको आगमन प्रतीकात्मक रूपमा भएको छ ।

आजित भएका नेपाली जनताले यो अवसर लिएका छन् ज्वालामुखी फुट्नु अगाडिको लाभा फ्याँकेको जस्तो गरेर । यसलाई दललाई वाइपास गर्न खोजेको या रिमोट कन्ट्रोल भनेर राजनीतिक बेइमानी अझ गर्नु मुलुकप्रतिको ठूलो बेइमानी हुनेछ ।

रिमोट कन्ट्रोल भन्ने पनि को रे भने जो आफै सुरुङ युद्धबाट अवतरित भएका या गराइएका छन् । हेक्का रहोस् सच्चिने मौका अझ बाँकी छ । नत्र यो अग्र्यानिक कम्पोजिसन गाउँ–गाउँमा पुगेर सिंगो नेपाली आवाज बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्