Logo
Logo

बालुवाटारमा खरेलको विकल्पको खोजी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याएर उक्त पद हत्याउन सफल भए पनि उनको दश महिने कार्यकालप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएको बालुवाटार स्रोतले दृष्टिलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री निकट यति एयरलाइन्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पालाई प्रयोग गरेर खरेलले उक्त पद हत्याउन सफल भएका थिए । खरेललाई निगममा ल्याउनु शेर्पाको समेत स्वार्थ थियो । सुरुमा खरेलले प्रधानमन्त्रीलाई आफूले निगमको जिम्मेवारी पाए कायापलट गरिदिने खोक्रो सपना देखाएका थिए । तर, कार्यकारी अध्यक्ष नियुक्त भएपछि खरेलले एउटा माखो पनि मार्न नसकेपछि प्रधानमन्त्री ओली खरेलको विकल्प खोज्न बाध्य भएका छन् । खरेलप्रति प्रधानमन्त्री ओली कतिसम्म रुष्ट रहेछन् भन्ने कुरा निगमको वार्षिकोत्सव समारोहमा प्रकट भयो । प्रधानमन्त्रीको भाषण सुनेर खरेल मञ्चमै कालोनिलो अनुहार बनाएर बसेका थिए । प्रधानमन्त्री ओलीले वार्षिकोत्सव समारोहमा निगम सुधार्न केही निर्देशन दिए पनि त्यसबमोजिम खरेलले निगमभित्र काम गर्न सकेका छैनन् । खरेललाई निगमका कर्मचारी र पाइलटहरुको असहयोग रहेको कारण खरेल पंगु बनेको कर्मचारीहरुले दृष्टिलाई बताएका छन् । यस्तै अवस्था रहे निगमका कर्मचारीहरुले कार्यकारी अध्यक्ष खरेललाई हटाउन आन्दोलन गर्ने भएका छन् । कर्मचारीहरुले आन्दोलन गर्ने संकेत पाएपछि ती कर्मचारीलाई विदेश पोष्टिङ दिने प्रलोभन खरेलले दिएका छन् । विदेश पोष्टिङ हुन अंग्रेजी भाषा परीक्षा पास गरेको हुनुपर्ने मापदण्ड बोर्डले स्वीकृत गरेको थियो । त्यसैअनुसार निगमका करिब तीन सय कर्मचारीले ब्रिटिश काउन्सिल र आईडीपीमा भाषा परीक्षा दिएका थिए । भाषा परीक्षामा पास हुने कर्मचारीको प्रतिव्यक्ति परीक्षा शुल्क १९ हजार ५०० निगमले तिरिदिने निर्णय पनि गरेको छ ।

तर, अहिले आएर एकाएक खरेलले विदेश पोष्टिङमा जानेहरुका लागि भाषा परीक्षा आवश्यक नभएको निर्णय गरेका छन् । यसो गर्नुका पछाडि आफ्ना विरोधी कर्मचारीलाई प्रलोभन दिन र पैसाका आधारमा पोष्टिङ गर्न उनले निर्णय उल्ट्याएको आरोप कर्मचारीले लगाएका छन् । त्यसमाथि ‘आईईएलटीएस’ परीक्षा दिएका तीन सय कर्मचारीको शुल्क निगमले तिर्नुपर्दा लाखौं आर्थिक भार निगमलाई पर्ने भएको छ ।

निगम स्रोतका अनुसार बैंकक, हङकङ, मलेसिया, मुम्बई, बैंग्लोर, दोहा र दुबईमा साउनभित्र एकै पटक पोष्टिङ गर्ने तयारी खरेलले गरेका छन् । विदेशमा पोष्टिङका लागि नवराज कोइराला, नवराज उपाध्याय, सुधनकुमार श्रेष्ठ र निमानन्द खनाल मरिहत्ते गरेर लागिपरेका छन् । निगमले एक पटक पनि विदेश पोष्टिङ नभएका कर्मचारीलाई मौका दिने मापदण्ड बनाए पनि खरेलले पटक–पटक विदेश पोष्टिङ भएका बदनाम कर्मचारीलाई पुनः पोष्टिङ गर्न लागेकोले निगमभित्र व्यापक खैलाबैला मच्चिएको छ । खरेल निगममा महाप्रबन्धक हुँदा उनले पैसा लिएर कर्मचारीको पोष्टिङ गर्ने गरेको प्रमाण फेला परेपछि सुगतरत्न कंशाकारले विदेश पोष्टिङ हुनेहरुको हकमा मापदण्ड बनाएका थिए । यस मापदण्डअनुसार एक पटक पनि विदेश पोष्टिङ नभएका कर्मचारीलाई प्राथमिकता दिने भनिएको थियो । तर, अंग्रेजी भाषा बोल्न र लेख्न जान्नैपर्ने बाध्यकारी निर्णय गरेको थियो । जुन मापदण्डलाई अहिले आएर खरेलले रद्दीको टोकरीमा हालेका छन् । खरेलको यो निर्णयबाट विदेश पोष्टिङ हुन अंग्रेजी भाषा नबुझ्ने कर्मचारी पनि पर्न सक्नेछन् । पटक–पटक विदेश गएकाले पुनः मौका पाउनेछन् । कर्मचारी पोष्टिङ र सरुवा बढुवा निस्कनसाथ निगममा ठूलै हंगामा हुने त्यहाँका कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्