Logo
Logo

अघिल्लो निर्वाचनमा ‘गोला अध्यक्ष’, यसपटक गाउँपालिका अध्यक्ष



झापा । २०७४ को स्थानीय तह निर्वाचनका क्रममा झापाको कलम गाउँपालिकामा अनपेक्षित परिणाम आयो ।

अध्यक्षका प्रत्यासी थिए– नेकपा एमालेका मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राई ।

मतगणनाको सुरुदेखि नै मेनुका र हुकुमसिंह ‘नेक टु नेक’ प्रतिस्पर्धामा थिए । अन्तिममा त्यो प्रतिस्पर्धा बराबर मतमा पुग्यो ।
फुटबल खेल भए बराबर भएपछि पहिलो चरणमा समय थपिन्छ । थपिएको समयमा पनि बराबर भए पेनाल्टिबाट विजेता चुनिन्छ । तर, निर्वाचनमा यो सुविधा छैन । संवैधानिक व्यवस्थाअनुसार मत बराबर भए गोला तानेर विजेत चुन्नुपर्छ । कमलमा त्यस्तै भयो ।

मेनुका र हुकुमसिंहले बराबर अर्थात् ८ हजार २७५ मत पाए । अब आपत्त आइलाग्यो । विजयोत्सव मनाउन तयार भएका कार्यकर्तामा सन्नाटा छायो ।

निर्वाचन सम्पन्न गर्न खटिएका निर्वाचन अधिकृतले भने– ‘अब गोला तानेर विजेता चुन्नु पर्छ ।’ अनि सबैको ढुकढुकीको चाल बढ्नु स्वभाविक थियो ।

मेनुका र हुकुम दुवैले गोला ताने–
मेनुकाले १ तान्दै मत ८ हजार २७६ बनाए, हुकुमलाई हाता लाग्यो शुन्य । अर्थात, गोलाबाट १ मत थप्दै मेनुका विजयी भए, हुकुम पराजित ।

०००
हुकुम ‘गोला अध्यक्ष’ !

गोला तानेर एक मत थपेका मेनुका गाउँपालिका अध्यक्ष भए । तर, हुकुम ? हुकुमचाहिँ ‘गोला अध्यक्ष’ भए !

गोला अध्यक्षचाहिँ हितैसी मित्रहरुले दिएको ‘ठठ्यौली पद’ हो । नजिकका साथीले हुकुमलाई ‘हौ गोला अध्यक्षज्यू’ भन्दै जिस्काइरहे ।

राजनीतिको गति सधैं एकनासको हुँदैन । राजनीतिको गतिले फेरो मार्दा विगतका क्षति पूरताल गर्ने अवसर मिल्न सक्छ । हुकुमको हकमा त्यो लागू भयो ।

२०७४ को निर्वाचनमा गोलाबाट हारेका हुकुमले ०७९ को निर्वाचनमा सानदार जित निकाले । यसपटक गोला तान्नु परेन । जनअभिमत नै काफी भयो ।

अनि हुकुम– गोला अध्यक्षबाट गाउँपालिका अध्यक्ष भए । अर्थात, कमल सरकारको प्रमुख निर्वाचित भए ।

०००

यसपटक हुकुमलाई सहजै भयो । अघिल्लो मतकै आधारमा कमलमा कांग्रेस त्यसै बलियो थियो । यसपटक त पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको पनि मत थपियो ।

यसपटक पनि हुकुमको प्रतिस्पधा नेकपा एमालेकै उम्मेदवारसँग भयो । एमालेका भीमप्रसाद राई अध्यक्षका उम्मेदवार थिए ।
यसपटक भने एमालेका उम्मेदवार भीमप्रसादले गोला तान्नुपर्नेसम्मको मत पाएनन् । हुकुमलाई सहज भयो ।

०००

को हुन हुकुमसिंह ?
हुकुमसिंह कमल क्षेत्रका पुराना कांग्रेस नेता हुन् । कांग्रेस विभाजन हुँदा उनी नेपाली कांग्रेस (प्रजान्तित्रक)मा लागे । त्यो समय उनी तत्कालीन लखनपुर गाविसको सभापति भए । धेरैपटक पार्टीको महाधिवेशन प्रतिनिधि भए । पुनः पार्टी एक भएपछि अहिले कांग्रेसको प्रदेश समिति सदस्य छन् ।

एक समय हुकुमसिंह सञ्चार उद्यमीसमेत थिए । दमकबाट प्रकाशित पिपुल्स टाइम्स दैनिकको प्रकाशक संस्थाको अध्यक्षको रुपमा उनी पूर्व सञ्चार उद्यमी थिए ।

पछिल्लो समय हुकुमसिंह बहुचर्चित ‘आदिवासी रंगशाला स्मृति प्रतिष्ठान’का अध्यक्ष हुन् । कमलमै पर्ने उक्त रंगशाला निर्माणका लागि निरन्तर लागिपरेका छन् ।

अध्यक्ष पराजित भएपछि हुकुम पूर्णरुपमा रंगशालामा लागे । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने उक्त रंगशाला एमालेले प्रतिष्ठाको विषय बनायो ।

ओली प्रधानमन्त्री भएको बेला रंगशालाको नाम ‘मदन भण्डारी रंगशाला’ राख्ने भए बजेट विनियोजन गर्ने भन्दै विकासमा राजनीति गर्न गर्न खोजे । त्यसविरुद्ध हुकुमको नेतृत्वमा आदिवासी जनजातिले संघर्ष गरे ।

करिब ७ सय आदिवारीको चिहान भत्काएर बनाइएको रंगशालाको नाम ‘मदन भण्डारी रंगशाला’ राख्न नसकिने भन्दै हुकुमले अडान लिए ।

०००

रंगशाला नै हुकुमको चुनौती
तीव्र गतिमा विकासको क्रममा रहेको दमक नगरपालिकासँग सीमा जोडिएको कमल गाउँपालिकाको भौतिक विकास रफ्तार र जनचाहना उस्तै तीव्र छ ।

दोस्रो प्रयासमा गाउँपालिका सम्हाल्न पुगेका हुकुमलाई कमलबासीको आधारभूत विकास चाहना पूरा गर्ने जिम्मेवारी त छदै छ, सँगै राजनीतिक प्रतिष्ठाको विषय बनेको आदिवासी रंगशाला निर्माण सम्पन्न गर्नु झनै ठूलो चुनौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्