
काठमाडौं । सुन्दरी प्रतियोगीताको नाममा बलात्कार हुने गरेको घटना सार्वजनिक भएपछि प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले सुन्दरी प्रतियोगितामा कडाइ गर्न सरकारलाई निर्देशन दिएको छ ।
सुन्दरी प्रतियोगिता तथा मोडलिङका नाममा किशोरीमाथि यौन हिंसा हुने गरेको भन्दै संसदीय समितिले कडाइ गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका सचिवको उपस्थितिमा बसेको बैठकले नीतिगत स्पष्टता कायम गरेर मात्र सुन्दरी प्रतियोगिता आयेजना गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बैठकको निर्णयमा भनिएको छ–
‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ, सम्बद्ध प्रतियोगिता र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यता)मा आधारित कुनै पनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ ।’
केही दिन अगाडि एक युवतीले सुन्दरी प्रतियोगीताको आयोजकले बलात्कार गरेको आरोप लगाएपछि यस्तो प्रतियोगीताका आयोजकमाथि प्रश्न उठेपछि संसदीय समितिले निर्देशन दिएको हो ।
उक्त युवतीको आरोपको आधारमा प्रतियोगीताका आयोजक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीमाथि सात दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ ।














