Logo
Logo

‘पुस्तक छैन, कसरी पढ्नु ?’




काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नयाँ पुस्तक नहुँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पनि पुराना पुस्तक पढ्ने गरेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर आधारभूत विद्यालय कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताए । ‘किताब नहुँदा अप्ठ्यारो भएको छ’ उनले भने, ‘सर, मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न सकेको छुइन ।’ कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् । गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताए । नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको विद्यालयका शिक्षिक गीता सुवेदीले बताइन् ।

२ सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि १ हजार ७ सय देखि २ हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि वार्षिक १ करोड १२ लाख रुपैयाँभन्दा बढी लाग्छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्रले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।

पुस्तक व्यवसायी तथा वितरकका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्