काठमाडौं । नेपालमा सुन तस्करीमा नयाँ नयाँ समूहको सक्रियता खुलेको छ । तर, अनुसन्धान गर्ने निकायले नाइकेलाई उन्मुक्ति दिदा तस्करी रोकिएको छैन । झन् बढेको छ ।

दुई साताअघि लुगामा सुनको जलप लगाएर सुन तस्करी गर्ने गिरोह पत्ता लगायो । आठ सय ८८ ग्राम सुनसहित सात जनालाई प्रहरीले प्रहरीले पक्राउ गरेको थियो, तर विस्तृत अनुसन्धान हुँदा नाइकहरु जोगिने सम्भावना छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईबाट सुनको जलपसहितको कपडा लगाएर आएका दुई जनालाई विमानस्थलमा पक्राउ गरी अनुसन्धान गर्दा त्यसमा संलग्न थप पाँच जना पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा सो समुहले विगतमा पनि यसरी सुन तस्करी गरिसकेको खुलेको थियो ।
२१ जेठमा प्रहरीले दुबईबाट फर्कदै गरेका रुपन्देही सैनामैना नगरपालिका–१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेश बहादुर शाही र कपिलवस्तु बाणगंगा नगरपालिका–८ ठेगाना भएका २९ वर्षीय सन्दिप चन्द ठकुरीलाई सुराकीको आधारमा पक्राउ गरेको थियो । उनीहरूबाट बरामद लुगा परीक्षण गर्दा त्यसमा सुनको जलप थियो ।
विमानस्थलमा ती कपडा लिन गएकी बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ ठेगाना भएका २२ वर्षीया निर्मला घलानलाई पनि प्रहरीले त्यही पक्राउ गरेको थियो ।
उनीहरुमाथि थप अनुसनधान गर्दा काठमाडौं बुढानिलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका–४ ठेगाना भएका ४१ वर्षीय राहुल भन्ने बरूण भक्त माथेमा, काठमाडौं बौद्ध बस्ने चिनियाँ मुलका नेपाली लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–१० ठेगाना भएका ४२ वर्षीय युवराज भुषाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगर ठेगाना भएका ५१ वर्षीय अमन राजपुतलाई पक्राउ गरेको हो ।
दुबईबाट फर्कदै गर्दा पक्राउ परेका शाही र ठकुरी भिजिट भिसामा एक साताअघि त्यहाँ गएका थिए । उनीहरु पटक–पटक भिजिट भिसामा सुन तस्करीकै लागि दुबइ जाने गरेको थिए । गिरोहका नाइकेहरु दुबईमा छन् । पक्राउ परेका सात जनामध्ये गिरोहका युवराज भुसाल प्रमुख व्यक्ति हुन् ।
प्रहरीले पक्राउ गरेलगत्तै उनले आफ्नो मोबाइल फुटाएका थिए । मोबाइलबाट गिरोहका बारेमा थप सूचना प्रहरीले पाउन सक्ने डरले उनले मोबाइल फुटाए प्रष्टै छ । तर, विस्तृत अनुसन्धान हुन नसक्दा अहिलेसम्म गिरोह पत्ता लागेको छैन ।
स्रोतका अनुसार भुसाल सुन पसले समेत हुन् । उनको यसअघि तस्करी गर्ने गुप्तलाल भुषालसँग निकटता रहेको आशंका गरिएको छ । हाल भन्सारले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
भन्सारको कमजोर अनुसन्धानका कारण यसपटक पनि कोही नाइके पक्राउ पर्ने सम्भावना देखिएको छैन । यसअघि सफाई कर्मचारी पक्राउ पर्दा पनि नाइकेहरु जोगिएका थिए । यसले सुन तस्करीसँग उच्च तहकै साँठगाँठ रहेको आशंका गरिएको छ ।
प्रहरीले केमिकल प्रयोग गरी ती कपडा गालेर सुन संकलन गरेको हो । कपडामा लेप लगाएर ल्याउँदा विमानस्थलको चेकजाँचमा सहजै झुक्याउन सकिने भएकाले सो गिरोहले यस्तो शैली अपनाएको हुनसक्ने प्रहरी अधिकारी बताउँछन् ।
सुरक्षा जाँचलाई झुक्याउन सुन तस्करीमा संलग्न गिरोहले नयाँ नयाँ शैली अपनाउने गरेका छन् । कहिले धुलो त कहिले झोल पदार्थमा मिसाएर समेत सुन तस्करी हुने गरेको विगतमा पत्ता लागेको थियो ।
त्यस्तै सुनको बेल्ट बनाई न्याँ नयाँ रंग लगाएर तस्करी गर्न लागेको अवस्थामा समेत बरामद भएको छ । कतिपयले मलद्वारभित्र लुकाएर ल्याएको सुन पनि प्रहरीले पटक पटब बरामद गर्दै आएको छ । गत फागुनमा सुन लुकाउने बिशेष प्रकारको अन्डरवेयर लगाएर आएका २२ जना डेढ केजी सुनसहित पक्राउ परेका थिए ।











