Logo
Logo

वर्षा र बाढीका कारण प्रदेश १ प्रभावित



मोरङ । मंगलबारदेखि लगातार परेको वर्षाका कारण प्रदेश १ को झापा र मोरङ प्रभावित भएको छ । झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीका अनुसार मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको उनको भनाइ छ ।

यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पानीको सतह बढेको छ । सिंघीया खोलाका कारण विराटनगर ८ का केही घरपरिवार विस्थापित भएका छन् । गएराति पानी कम परेपछि विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बुधबार पुनः बिहानदेखि वर्षा सुरु भएको छ ।

यस्तै, सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तकोशीमा पानीको बहाव बढ्नेक्रम रहेको छ । मंगलबार साँझसम्म प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी नापिएको थियो । तर, बुधबार बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये १९ वटा ढोका खोलिएको छ ।

प्रदेश १ को उदयपुरको चौदण्डीगढी, धनकुटाको केही भित्री सडक तथा सुनसरीको वराहक्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईका अनुसार अहिलेसम्म प्रदेशमा ५ सय घर परिवार विस्थापित भएको र पुनःस्थापित गराउने पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्