Logo
Logo

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री


441
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’

दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उनले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढङ्गले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताए । उनले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढङ्गले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा २०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताए । उनले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्