काठमाडौं । एकीकृत यातायात मजदुर संगठन, नेपालले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक तथा वैज्ञानिक नभएको भन्दै पुनर्विचार गर्न माग गरेको छ । संगठनले पटक-पटक सम्बन्धित निकायलाई लिखित तथा मौखिक अनुरोध गरेको समेत जनाएको छ ।

सियो समेत नबन्ने देशमा सरकारले सवारीसाधनको २० वर्षे आयु निर्धारण गर्ने कुरा अव्यवहारिक भएकाले सवारीसाधनको गुणस्तर तथा प्रदुषण परीक्षण गरेरमात्रै विस्थापित गर्ने नीति अघि सार्नु पर्ने एकीकृत यातायात मजदुर संगठनले सरकारसँग माग गरेको छ ।
सरकारले एकलौटी ढंगले २० वर्षे अवधि तोकेकाले धेरै यातायात श्रमिकहरू समस्यामा पर्ने देखिएको र नयाँ सवारीसाधन भित्र्याउने नाममा खर्बौ रूपैयाँ बाहिरिँदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले यो निर्णय पुनर्विचार गरि भेइकल फिट्नेस टेस्टको आधारमा चल्न सक्ने सवारीसाधनलाई चलाउन दिनुपर्ने एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष रबि केसीले बताए ।
नेपालका करिब ६५ प्रतिशत सार्वजनिक यातायातका सवारीसाधन स्वरोजगार श्रमिकको लगानीमा संचालित रहेकाले यसको संरक्षण राज्यले गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ ।











