Logo
Logo

गाउँपालिका अध्यक्ष भाले र घ्यू बोकेर सुत्केरीको घर-घरमा !


- दृष्टि न्युज/संवाददाता


पर्वत, ५ साउन । यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन सुरु गरेको छ ।
पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुंगु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गरेका छन् । अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।
आमा र बच्चाको अवस्था सामान्य रहेको थियो । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरिएको हो । महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् ।
‘हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ’, अध्यक्ष पौडेलले भने, ‘अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।’

 

प्रतिक्रिया दिनुहोस्