काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा जारी छ । यसै बैठकबाट माओवादीले पदाधिकारी टुंगो लगाउने भनेको छ ।
केन्द्रीय समिति बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी टुंगो लगाउने विशेष जिम्मा पाएका छन् । प्रचण्ड यतिखेर पदाधिकारी टुंगो लगाउने कसरतमा जुटेका छन् ।

माओवादीको पदाधिकारी टुंगो लगाउने विषय महासचिवमा अड्केको हो । जनर्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’मध्ये एकलाई महासचिव छान्न प्रचण्डलाई हम्मे–हम्मे परेको छ ।
प्रचण्ड दोहोरो चेपुवामा परेका छन् । प्रभाकरलाई महासचिव बनाउँदा आफ्नै समूहका अनन्त बाहिरिने र अनन्तलाई महासचिव बनाए माओवादीमा अलग सत्ताको अभ्यास गरिरहेका प्रभाकर झन् टाढिने चिन्ता छ । यसै कारण प्रचण्डले ठोस निर्णय लिन नसकेका हुन् ।
पदाधिकारीको अन्य पदमा भने खासै समस्या छैन । लगभग कुरा मिलिसकेको छ ।
महासचिवबारे तीन विकल्पमा छलफल
माओवादीको महाचिव चयन गर्न तीन विकल्पमा छलफल भइरहेको छ । एक, प्रभाकर र अनन्तमध्ये एकलाई महासचिव र अर्कोलाई उपाध्यक्ष बनाउने । दोस्रो, प्रभाकर र अनन्तभन्दा सिनियरबाट महासचिव बनाउने । तेस्रो, वर्षमान र प्रभाकरभन्दा जुनियरलाई महाचिव बनाएर दुवैलाई उपाध्यक्षमा थन्काउने ।
अनन्त र प्रभाकरभन्दा सिनियरलाई महासचिव बनाउने सवालमा कृष्णबहादुर महरा लगायतको नाममा छलफल चलिरहेको छ । जुनियरको सवालमा छलफल चल्दा शक्ति वस्नेत लगायतको नाममा आएको छ ।
अनन्त र प्रभाकरमध्ये एकलाई चुन्नु पर्ने अवस्था आएमा मदतानबाहेक अन्य विकल्प नरहेको एक नेता बताए । तर, निर्वाचन हुने सम्भावना छैन ।
ति नेता भन्छन्– महाधिवेशन सम्पन्न भएको यतिका समय भइसक्यो । अब मतदानबाट नेतृत्व चयन गर्ने कुरा सम्भव छैन । त्यसैले सहमतिबाटै नेतृत्व चयन गर्नुको विकल्प छैन । अध्यक्ष प्रचण्ड पनि मतदान नगर्ने तर दुवैलाई अटाएर लैजाने सोचमा हुनुहुन्छ ।’
मतदान भए के हुन्छ ?
मतदानबाट महासचिव चुन्ने अवस्थामा प्रभाकर विजयी हुने माओवादीभित्रै चर्चा चल्ने गरेको छ । माओवादीभित्र ‘अनन्तभन्दा प्रभाकर नै महासचिव बने राम्रो’ भन्ने मत पनि छ । तर, पछिल्लाे घटनाले प्रभाकरमाथि पथ प्रश्न उब्जेकाे छ ।
दृष्टिसँग ती नेताले भने– ‘विभिन्न कोणबाट हेर्दा मतदान भएको अवस्थामा प्रभाकरले जित्ने सम्भावना धेरै छ । यसका विभिन्न फ्याक्टर छन् । तर, परिस्थिति मतदानसम्म जाँदैन । सहमतिमै नेतृत्व चयन हुन्छ ।’
आदिवासी जनजाति लखेट्ने खेल !
पछिल्लो समय माओवादीमा आदिवासी जनजातिलाई पार्टीले उचित स्थान दिन नचाहेको आरोप लाग्ने गरेको छ ।
यतिखेर अनन्तलाई महासचिव बन्न नदिने खेल पनि त्यसको निरन्तरता रहेको माओवादीका आदिवासी जनजाति नेतले आरोप लगाउन थालेका छन् ।
माओवादीका एक जनजाति नेताले भने– ‘माओवादीलाई यहाँसम्म ल्याउन आदिवासी जनजाति समुदायले ठूलो बलिदान गरेको छ । तर, पार्टीबाट त्यो बलिदानको अवमूल्यन गर्ने काम हुँदै आएको छ । अहिले महासचिवका लागि योग्य भएर पनि आदिवासी जनजाति भएकै कारण अनन्त कमरेडलाई अवसरबाट वञ्चित गराउने खेल सुरु भएको बुझिन्छ । यसको मूल्य पार्टीले चुकाउनु पर्छ ।’
ति नेताले थपे– ‘पछिल्लो समय हरेक समितिको नेतृत्व हेर्नु भए हुन्छ । जनवर्गीय संगठनका नेतृत्व हेरे हुन्छ । जहाँ पनि आदिवासी जनजातिलाई बाइपास गर्ने काम भएको छ । यसले पार्टी भित्र ठूलो विद्रोहको खतरा बढ्दै गएको छ ।’
प्रचण्डको तयारी के छ ?
प्रचण्ड यतिखेर एकलाई थमाएर अर्कोलाई फकाउने तयारीमा लागेको हुनसक्ने बुझिन्छ । पार्टीमा अलग सत्ताको अभ्यास गरिरहेका जनार्दनलाई महासचिव बनाएर शक्ति सन्तुलन गर्ने प्रचण्डको तयारी रहेको हुनसक्ने प्रचण्डसँग अति निकट एक शीर्ष नेताले बताए ।
सधैं आफूसँगै रहने अनन्तलाई फकाएर उपाध्यक्ष बनाउने र प्रभाकरलाई महासचिव बनाउने प्रचण्डको तयारी हुनसक्ने ती शीर्ष नेताको बुझाइ रहेको छ ।
उनले भने– ‘अध्यक्ष कमरेडले पछिल्लो भेटमा पार्टीभित्र शक्ति सन्तुलन बिग्रदै गएको र त्यसलाई मिलाएर जानुपर्ने अवस्था आएको सुनाउनु भएको थियो । उहाँले खुलेर नभने पनि उहाँको कुरा बुझ्न टाढा जानु पर्दैन । किनकी, उहाँलाई खतरा अनन्तसँग होइन, प्रभाकरसँग महसुस भएको हुनसक्छ ।’
तर पनि, सहजै प्रभाकरलाई महासविच बनाउने प्रचण्डको चाहना नरहेको बुझिन्छ । पछिल्लो भेटमा एक शीर्ष नेताले ‘सारै भयो प्रभाकरलाई महासचिव बनाउनुस्’ भन्दै सुझाव दिएका थिए ।
प्रचण्डले जवाफमा ‘हन्न’ भनेको ति नेताले बताए ।
प्रभाकर दुई भोट पाए पनि चुनाव लड्ने पक्षमा
जारी केन्द्रीय समितिले नै पदाधिकारी टुंगो लगाउने भएपछि अनन्त र प्रभाकरबीच संवाद भएको छ ।
संवादमा अनन्त नरम देखिए पनि प्रभाकर भने कडा रुपमा प्रस्तुत भएका छन् । अनन्तले प्रभाकरसँग ‘हामी दुईका कारण पदाधिकारी चनय रोकियो, हामी छोडौं’ भन्ने प्रस्ताव राखेका थिए । तर, प्रभाकर भने अरुलाई छोड्ने पक्षमा देखिएनन् ।
अनन्तको प्रस्तावमा प्रभाकरले भने– ‘म महासचिव छोड्ने पक्षमा छैन । तपाई छोड्नु हुन्छ भने बेग्लै कुरा हो । दुई भोट पाए पनि ठीकै छ । मत चुनाव लड्न तयार छु ।’
ठूलो तप्का प्रभारकको विपक्षमा
प्रचण्डले बाध्यात्मक अवस्थमा प्रभाकर रोज्ने अवस्था बने पनि माओवादीको ठूलो तप्का प्रभाकरको विपक्षमा देखिन्छ ।
बजेट बनाउने प्रकृयामा प्रभाकरमाथि उठेका प्रश्नले माओवादी नेता कार्यकर्ताको ठूलो तप्का प्रभाकरलाई महासचिव बनाउन नहुने पक्षमा रहेका छन् । यस्तो अवस्थामा प्रभाकरलाई महासचिव बनाउए सिंगो पार्टी नै नैतिक प्रश्नको घेरामा पर्ने धेरैले भन्ने गरेका छन् ।
तर, प्रचण्ड भने पछिल्लो समय प्रभाकरप्रति अति नै नरम देखिन्छन् । बजेटमाथि देखिनेगरी छेडखानी भए पनि प्रचण्डले प्रभाकरलाई केही भन्न सकेका छैनन् ।
सोमबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले ‘राष्ट्रद्रोह’ गरेको आरोप लगाइसकेका छन् । उनले संसदीय छानविन समिति नै बनाउन माग गरेका छन् ।
आइतबार अर्थमन्त्रालयले बजेट बनाउने समयको सीसीटीभी फुजेट डिलिट भएको सार्वजनिक गरेसँगै सिंगो देश नै प्रभाकरविरुद्ध लागेको छ । तर, पनि प्रचण्डले यसबारे प्रभाकरलाई प्रश्न गर्न सकेका छैनन् ।
यसअघि पनि बजेटमा विचौलीलाई प्रवेश गराएको आरोप लागेपछि माओवादीकै नेताहरुले अर्थमन्त्रीलाई फिर्ता बोलाउन माग गरेका थिए । तर, प्रचण्डले अवस्था त्यस्तो नरहेको भन्दै जनार्दनलाई जोगाएका थिए ।
माओवादी पार्टीलाई नै बदनाम गराउने काम जनार्दनबाट भएतापनि प्रचण्डले केही नगरेको भन्दै माओवादीबाटै आलोचना भइरहेको छ । तर, प्रचण्ड भने प्रभाकरप्रति अति नै लोयल देखिएका छन् ।











