Logo
Logo

कब्जामा लिएको तेल ट्यांकर छाड्न बेलायतको आग्रह


- दृष्टि न्युज/संवाददाता


लन्डन, ५ साउन (एएफपी) । बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयांकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ ।
नियन्त्रणमा लिइएको उक्त ट्यांकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ ।
इरानको क्रान्तिकारी गार्डले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो । स्ट्रेट अफ हर्मुज भनिने यस जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ ।
करिब एक महिनाअघि इरानी तेल ट्याँकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन । बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो ।
बेलायती ध्वजावाहक ट्याँकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिएको र ‘अन्तर्रा्ष्ट्रिय सामुद्रिक नियम’ को उल्लंघन गरेको आरोप इरानको छ ।
आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फर्केको घोषणा गरेका थिए । साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गर्नुभएको थियो । ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ ।
पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ । इरानी अधिकारीले ट्याँकर र चालक दलका २३ सदस्यलाई बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा राखिएको जनाएका छन् ।
यसैबीच इरानले अर्को जहाजलाई पनि पर्सियाली सामुद्रिक इलाकाबाट कब्जामा लिइ केही समयपछि छोडिदिएको जनाएको छ । इरानले जहाजहरूलाई एकपछि अर्को गर्दै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले इरानको उक्त निर्णयले समस्यालाई थप बढाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले नियन्त्रणमा लिइएका जहाज र चालक दलका सबै सदस्यलाई बिनाशर्त रिहा गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्