Logo
Logo

प्रहरीमा डरलाग्दो नजिर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत वर्ष भदौदेखि लागू भएको अपराध संहिताले प्रहरीको हातखुट्टा बाँधेको भन्दै प्रहरी अधिकारीले निकै रोईकराई गरे । अदालतको अनुमतिबिना कसैलाई पक्राउ गर्न नपाइने, अभियुक्तलाई कुटे प्रहरी नै जेल जानुपर्ने, मुद्दा चलाउँदा गल्ती भए प्रहरीविरुद्ध नै मुद्दा चल्ने जस्ता प्रावधानले प्रहरी निकै कमजोर बन्ने प्रहरी अधिकारीहरुको भनाइ थियो ।

नयाँ प्रावधानले केही प्रहरीहरुको करिअर समेत चौपट भएको छ । यही अवस्थामा भने प्रहरी अधिकारीहरु नै गलत नजिर स्थापित गर्न उद्यत छन् ।

प्रसंग सधैं विवाद र चर्चामा आउने प्रहरी अधिकृत कुमोध ढुंगेलको हो । गुन्डासँग सम्बन्ध देखिएको भन्दै ढुंगेललाई मुद्दा चलाउन सरकारी वकिलमा मिसिल पठाइएको छ । सरकारी वकिलहरु यसरी मुद्दा चलाएमा आधाजसो प्रहरीहरु जेल जाने बताउँछन् ।

डकैतीको आरोपमा पक्राउ परेका बिक्रम श्रेष्ठसँग फोन सम्पर्क देखिएको भन्दै ढुंगेललाई समेत सो मुद्दा चलाउन सिफारिस गरिएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ । मुद्दा चलाउन मिल्ने कुनै पनि तथ्य नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नमान्दा प्रहरीले भने दबाब दिइरहेको छ ।

यो घटना प्रहरीका दुई समूहबीचको गुटबन्दी भएको छिपेको छैन । एआईजी पुष्कर कार्की निकट भएको भन्दै डिएसपी ढुंगेललाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत मुद्दा चलाउन दबाब दिएका थिए । जुन घटनाप्रति काठमाडौं परिसरकै प्रहरी अधिकारीहरुसमेत आश्चर्यमा परेका छन् ।

अपराध महाशाखाका अधिकांश प्रहरीहरुको गुन्डा र तस्करहरुसँग टेलिफोन सम्पर्कमात्र होइन बाक्लो उठबस छ । कतिपयले त्यस्ता समूहलाई संरक्षण नै दिइरहेका छन् । त्यस्तो अवस्थामा कसैले उनीहरुविरुद्ध उजुरी दिएमा मुद्दा चल्ने कि नचल्ने भन्ने प्रश्न समेत उठेको छ ।

सो घटनामा ढुंगेलकै संलग्नता हो भने मुद्दा चलाउने मात्र होइन थुन्नु समेत पर्दछ । तर टेलिफोन सम्पर्ककै आधारमा मुद्दा चलाउने हो भने प्रहरीका आधा भन्दा धेरै अधिकृतहरुको जागिर जाने निश्चित छ । अझ प्रहरी अधिकारी नै संगठनका लागि घातक हुने यो गलत नजिर स्थापित गराउन लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्