Logo
Logo

एमाले ओलीको मात्रै पार्टी होइन : बैजनाथ चौधरी


बैजनाथ चौधरी, पोलिटब्यूरो सदस्य, नेकपा (एमाले)


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा फेरि वाम एकता वा गठबन्धनको बहस हुन थालेको छ । अहिलेको पाँचदलीय गठबन्धन निर्वाचनसम्मै रहने अभिव्यक्ति पनि गठबन्धनका नेताहरूबाट आइरहेको छ । हाम्रो निर्वाचन प्रणालीमा कुनै एक दलले मात्र बहुमत ल्याउन सहज छैन । त्यसकारण आगामी निर्वाचनपछि पनि गठबन्धन सरकार नै बन्ने निश्चित हो । दलहरू निर्वाचनअघि नै गठबन्धन गरेर आगामी पाँच वर्षको राजनीतिक यात्रा गर्ने सोचमा छन् । पाँच दलीय गठबन्धन कि वाम गठबन्धन भन्ने बहस पेचिलो बनेको छ । प्रस्तुत छ, नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीसँग दृष्टिले गरेको कुराकानी ।

कम्युनिष्ट पार्टीहरूबीच एकताको आवश्यकबारे तपाईंले अभिव्यक्ति दिँदै आउनुभएको छ । तिक्ततापूर्ण अवस्थामा रहेका कम्युनिष्ट नेताहरू अहिले मिल्ने सम्भावना छ र ?
राजनीतिमा हरेक सम्भावना खुला हुन्छ । नेकपा (एमाले)को तर्फबाट मूल नेतृत्व सकारात्मक भयो भने मिल्नै सकिन्न भन्ने छैन । त्यसका लागि मूल नेतृत्व पहिला सकारात्मक हुनुपर्छ । नेपाललाई समृद्ध बनाउने लक्ष्य पूरा गर्न सबै वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्छ । त्यही जगमा सरकारमा पुगेर हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । अहिलेकै गठबन्धन प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने हो भने एमालेलाई धेरै गाह्रो हुन्छ । त्यसकारण हाम्रो मूल नेतृत्वले ठण्डा दिगमाले सोच्नुपर्छ र लचिलो बन्नुपर्छ ।

केपी शर्मा ओली रिथिंक गर्न तयार हुन्छन् त ?
‘रिथिंक’ नगरी सुखै छैन । एमाले सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको हिसाबले विकास हुँदै आएको पार्टी हो । भूमिगतकालदेखि बहुदल हुँदै गणतन्त्रकालसम्म पनि एमाले यहीँ रुपले चल्दै आएको छ । एमाले बन्नका लागि लाखौँलाख कार्यकर्ताको बलिदानी छ । तर, अहिले कस्तो परिस्थितिको सिर्जना भएको छ भने एमालेभित्र कुनै कुरामा छलफल नै हुँदैन । स्थायी कमिटी, पोलिटब्यूरो कही पनि छलफल हुँदैन ।

कम्तीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोसम्ममा छलफलको वातावरण बन्यो भने, एमालेमा धेरै कुराको सम्भावना हुन्छ । सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको पुरानो शैलीमा फर्किना पहिलेकै स्पिरिटमा एकमना एकताको साथ एमाले अगाडि बढ्न सक्छ । नेताको मनमा अनेक कुरा गुम्सेर बसेको छ । केही योगदान गरौँ भन्ने हुटहुटी छ । स्थायी कमिटी, पोलिटब्यूरोका नेताहरूले बैठकमा कुरा राखेर पार्टीलाई गतिका साथ अगाडि बढाऔँ भन्ने मनमा लिनुभएको छ । तर, बैठक नै नहुँदा खास कुरा नै आइरहेको छैन । सबैभन्दा पहिला छलफललाई खुला गर्नुपर्छ । कम्युनिष्ट पार्टी कुनै एक व्यक्तिले बनाएर बनेको होइन भन्ने हेक्का सबैले राख्नुपर्छ ।

अहिले खुला छलफल गर्ने अवस्था छ त एमालेमा ?
त्यही त, अहिलेसम्म छलफल नै भएको छैन । त्यसकारण एमालेभित्र कसको मनमा के छ, कसले के गर्न लागिरहेको छ भन्ने नै थाहा छैन । पदाधिकारीको बैठकमा पनि कति छलफल हुन्छ मलाई थाहा छैन । तर, बाहिर मिडियामा जुन ढंगले कुरा आइरहेको छ, त्यसलाई हेर्दा मसिनो ढंगले छलफल भएको छ भन्ने मलाई लाग्दैन ।

तपाईं एमालेका युवाले बोल्नुपर्छ भन्नुहुन्छ । तर, तपाईंको पार्टी एमालेमा बोलिहाल्ने अवस्था त देखिदैन नि ?
म आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा आएको हुँ । त्यतीबेला हप्तौँसम्म बैठक चल्थ्यो । केन्द्रीय कमिटीमा भएका प्रायः सबैले आफ्नो विचार राख्थे । एजेन्डामा छलफल हुन्थ्यो । सदस्यहरूले आ–आफ्नो दृष्टिकोण राख्थे । सबैको विचार, भावनालाई बुझेर अन्तिम टुंगोमा पुगिन्थ्यो ।

तर, नवौँ महाधिवेनपछि एमालेमा त्यो वातावरण भएन । बीचमा नेकपा बनेपछि त दुई वर्ष लफडामै बित्यो । १०औँ महाधिवेशनपछि पनि छलफल हुनै सकेन । जसरी पार्टी अगाडि बढ्नुपथ्र्यो, सबैले बोल्ने वातावरण हुुनुपथ्र्यो, त्यो फिटिक्कै भएन । केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटीको बैठकमा वृहत छलफल, बहस गरेर अगाडि बढ्नुको विकल्प नै छैन ।

विचार राखेकै आधारमा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारबाहीको डण्डा चलाउने काम भयो नि ?
त्यस्तो कारबाहीको कुनै अर्थ छैन । अनुशासन आयोगले सचिवालय बैठकबाट स्पष्टीकरण सोध्ने काम गर्याे । पछि पूर्ण बैठकबाट अनुमोदन पनि गर्याे । तर, पार्टीको पदाधिकारी बैठकमा त्यो एजेन्डा नै बनेन । घनश्याम भुसालले उठाएको विषय पार्टी हितविपरीत त छैन नि ।

पार्टी अगाडि बढोस्, पार्टी राम्रो बनोस्, एमालेले लिडिङ गरोस्, भोलि सरकार बनाओस्, समाजवाद उन्मुख कार्यक्रममा साथ अगाडि बढोस् भन्ने चाहना राखेर उहाँले बोलिराख्नुभएको छ । उहाँले हिम्मत त गरिराख्नुभएको छ नि । त्यसका लागि त हामीले उहाँलाई स्यालुट गर्नुपर्छ । पार्टीलाई सुधार्ने, अग्रगतिमा लाने जुन कुरा राख्नुभएको छ, त्यसलाई पार्टीको मूल नेतृत्वले आत्मसात गर्दै छलफल खुला गरेर जानुपर्छ । एउटाले बोल्यो दबाउन खोज्ने, अर्कोले बोल्छ फेरि दबाउन खोज्ने गरेर पार्टी अगाडि बढ्दैन ।

त्यसोभए अब कसरी अगाडि बढ्छ त एमाले ?
एमाले अगाडि बढाउन घनश्याम कमरेडजस्ता नेताहरूले खुला रुपमा बोल्न सक्नुपर्छ । बोलेपछि न विचार बन्दै जाने हो । बोल्न नदिने, बोलेपछि कारबाही गर्ने भए त सबै चुपचाप बसे भइहाल्यो नि । पार्टीमा सबैका आ–आफ्ना योगदान छन् । पार्टीका सबै कमिटीमा विचारको बारेमा छलफल हुनुपर्छ । अहिले त प्रशिक्षण, सिद्धान्त र विचारको बारेमा पार्टीमा छलफल नै हुँदैन ।
चुनावमा उम्मेदवारी दिने कुरा हुन्छ ।

उम्मेदवार कस्तालाई बनाउने र जितेपछि के गर्ने भन्ने नै स्पष्ट हुँदैन । उम्मेदवार कस्तो बनाउने भन्ने बारेमा पनि वैचारिक छलफल हुँदैन । विभिन्न पार्टीबाट नेता प्रवेश गर्छन, तिनैले टिकट पाउँछन । तर, तिनीहरूलाई वैचारिक प्रशिक्षण दिइँदैन । उनीहरू त एमाले नै भएका हुँदैनन् । अन्य पार्टीबाट ल्याएर मेयर, सांसद, मन्त्री बनाउने तर, कम्युनिष्ट नबनाउने भएपछि तिनले गर्ने काम कस्तो हुन्छ ? यस्ता विषयमा अब वृहत छलफल हुनुपर्छ । कुन कमिटीमा बस्न कस्तो योग्यता चाहिन्छ, सिद्धान्ततः कति बुझेको हुनुपर्छ भन्ने विषयमा पार्टी स्पष्ट हुनुपर्छ ।

उदाहरणको रुपमा कपिलबस्तुबाट नेपाली कांग्रेसका कार्यकर्तालाई एमालेमा प्रवेश गराएर टिकट दिइयो र सांसद बनाइयो । तर, उहाँलाई कम्युनिष्ट बनाइएन, एमाले बनाइएन । उहाँ जुन पार्टीबाट आउनुभएको थियो, चरित्र त उहाँको त्यस्तै थियो । उहाँले पार्टीको गरिमा, मानसम्मान, प्रतिष्ठा, अनुशासन बुझ्नु भएन । उहाँले अनुशासन तोड्नुभयो, अर्कोले पनि अनुशासन तोड्यो । हुँदाहुँदा उहाँले राजीनामा गर्ने परिस्थिति बन्यो ।

त्यही कारण एमालेको लुम्बिनी सरकार ढल्यो । त्यसकारण विचार, नीति, सिद्धान्त, अनुशासनबारे नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनैपर्छ । एमालेमा अहिले त्यो शुन्य छ । नेताको नजिक को छ भन्ने आधारमा कार्यकर्ताको मूल्यांकन हुन थालेको छ । यो अब टिक्दैन । योग्यता, क्षमता, क्रियाशीलता र योगदानका आधारमा मूल्यांकन हुनुपर्छ । कोही नेतासँग नजिक हुँदैमा उसमा सैद्धान्तिक ज्ञान बढ्दैन, इतिहास बदलिदैन ।

एउटा समय थियो कम्युनिस्ट पार्टीले कार्यकर्तालाई प्रश्न गर्न, छलफल गर्न, अध्ययन गर्न सिकाउँथ्यो । तर, आज त प्रश्न गर्यो कि नेताको तारो बन्नुपर्ने अवस्था छ । यस्तो अवस्था कहिलेसम्म रहन्छ ?
यो पार्टी धेरैको योगदान, क्रियाशीलता र त्यागका कारण यहाँसम्म आइपुगेको हो । त्यसकारण हामीले खुला छलफल गरेर कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ । विचार, सिद्धान्तको हिसावले एमाले ठीक छ । तर, कार्यशैलीका हिसाबले कमजोरी भएका छन् । त्यसलाई सच्याएर अगाडि बढ्नुपर्छ । सबै कमिटीमा खुला बहस हुनुपर्छ । त्यसको निर्णय सबैले मानेर अगाडि बढ्नुपर्छ । पार्टी बिग्रिने पनि माथिबाटै हो, बन्ने पनि माथिबाटै हो । त्यसकारण मूख्य जिम्मेवारी मूल नेतृत्वले लिएर कमिकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।

त्यसो हो भने, असंवैधानिक रुपमा संसद विघटन गर्नू गलत थियो भनेर स्वीकार्न एमालेलाई किन अप्ठ्यारो ?
त्यसबारेमा पनि छलफल हुनुपर्छ । घनश्याम भुसालले त स्पष्ट रुपमा दुईटा कुरा राख्नुभएको छ– असंवैधानिक संसद विघटन गलत र २० प्रतिशतको नामबाट अर्को पार्टी गठन गर्नू पनि गलत हो । दुबै नेताले गल्ती स्वीकार्नुपर्छ । यो विषयमा पार्टीका कमिटीमा छलफल हुनुपर्छ ।

कमिटीमा खुला छलफल हुँदा एउटा निकास निस्कन्छ । कम्तीमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा छलफल गरौँ । जे निर्णय आउँछ, त्यसलाई कार्यान्वयन गरेर अगाडि जाऔँ । संसद विघटन गलत थियो भनेकै आधारमा घनश्याम भुसालमाथि कारबाही हुने हो भने त कतिलाई कारबाही गर्ने ?

अब कसरी वाम शक्ति एक ठाउँमा आउन सक्छन ? विगतको तीतो अनुभव पनि ताजै छ ?
ढिलो चाँडो सबै वाम शक्ति एक ठाउँमा आउनुको विकल्प नै छैन । नेपालमा सबै वाम एक ठाउँमा रहने हो भने त अरुले सत्तामा चिहाउन पनि पाउँदैनन् । सबै वामपन्थीहरूको मत एक ठाउँमा राख्ने हो भने अहिले पनि बहुमत छदैछ । जनताले वामपन्थीहरूलाई मत दिएकै छन् । मूल नेतृत्वले व्यवस्थापन गर्न नसकेर वा नजानेर मात्रै समस्या भएको हो ।

अब हुनुपर्ने वाम एकता कि वाम आन्दोलनको पुनर्गठन ?
पहिला दुई नेता ओली र प्रचण्ड मिलेर पार्टी एकता गर्नुभयो । तर, तलसम्म एकता नै नभइ विभाजन भयो । अब यस्तो एकताको कुनै अर्थ रहँदैन । एकता केका लागि भन्ने कुरा पहिला स्पष्ट हुनुपर्छ । र, वाम राजनीतिलाई पुनर्गठित गर्दै जानुपर्छ । यसमा हामी स्पष्ट भएपछि वाम एकता गर्न सके राम्रो, नभए पनि निर्वाचनमा वाम गठबन्धन हुन सक्यो भने राम्रो ।

फेरि नेकपा ब्यूँतने अवस्था देख्नुहुन्छ ?
यही पुस्ताले, यही नेतृत्वले विगतमा नेकपा बनाएको हो । नेकपा बनाउने बेलामा युवा पुस्तालाई खोजेको थियो र ? त्यसकारण यही पुस्ताले वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सक्छ । तर, सबैले आफ्ना कमजोरी स्वीकार गर्नुपर्छ । सिद्धान्तको भन्दा पनि जुँगाको लडाइँका कारण अहिले समस्या भइरहेको छ । र, अहंकारले सबै खाइदिएको हो । सबै नेताले आ–आफ्नो अहंकार त्यागेर मूल विषयमा एक हुने वित्तिकै सबै कुरा मिल्छ । एक स्टेप ब्याक हुने हो भने यही पुस्ताले एकीकृत वाम आन्दोलन अगाडि बढाउन सक्छ । हिजो कांग्रेससँग मिलेर बहुदल ल्याउने, गणतन्त्र ल्याउने यो पुस्ताले समृद्धिको बाटोमा वामपन्थी एकता गरेर अगाडि बढ्न सक्दैन भन्न मिल्दैन ।

तर, शीर्ष नेताहरू ब्याक हट्ने स्थिति त देखिदैन ?
छलफल सुरु भएपछि ब्याक नभइ सुखै छैन । अहिले त कसैको बारेमा कुरा गर्नै डराउनुपर्ने अवस्था छ । छलफल खुला गरेपछि सबै ठीक ठाउँमा आउँछ । सबैले आ–आफ्नो जिम्मेवारी अनुसार कमजोरी स्वीकार गर्नुपर्छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबाट विगतमा के–के गल्ती, कमजोरी भए त्यसबारे सबैले आत्मसमीक्षा गर्नुपर्छ । र, ठोस निष्कर्षको आधारमा अगाडि बढ्दा अवस्या ब्याक हट्ने स्थिति बन्छ । यसैमा देश र जनताको भलाई हुन्छ ।

छलफल बन्द चाहिँ कसले गर्याे ?
एमालेको पदाधिकारी बैठकबाट छलफल खुला हुनुपर्छ । एउटा व्यक्तिलाई मात्र दोष लगाएर पनि हुँदैन । मूल नेतृत्वले सुरुवात गर्नुपर्छ र पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी हुँदै तल्ला तहसम्म पनि छलफल खुला गर्नुपर्छ । त्यसपछि वैचारिक र सैद्धान्तिक रुपमा नेता तथा कार्यकर्ता खारिन्छन । त्यस्तो अवस्थामा राम्रो निष्कर्ष निस्कन्छ । र, कार्यान्वयन पक्ष पनि सहज हुन्छ ।

ओलीले नचाहेसम्म त एमालेमा केही पनि हुँदैन, ओलीले नै छलफल खुला गराउनुपर्याे होइन ?
मूल नेतृत्वबाटै यो काम हुन जरुरी छ । एमाले ओलीको मात्रै पार्टी त होइन नि । गडबडीको दोष ओलीलाई दिने अनि अरु केही पनि नगर्ने हो भने त हामी सबै दोषी हुन्छौँ । त्यसकारण अरु नेताहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको आधारमा एमाले विगतदेखि चल्दै आएको हो । त्यसकारण कुनै व्यक्तिलाई दोष दिनुभन्दा पनि पदाधिकारीबाट छलफल खुला गरौँ । त्यसपछि कम्तीमा स्थायी कमिटी र पोलिटब्यूरोसम्म छलफल चलाऔँ । सबै समस्याको समाधान निस्कदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्