Logo
Logo

टेलिकमले ल्यायो समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज


2k
Shares

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको हो । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् ।

यसअनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा चार गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणका लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकामा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने टेलिकमले जनाएको छ ।

समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्