काठमाडौं । सामाजिक सञ्जालमा तेश्रोलिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङसिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने र सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
साथै, पीडित महिलाले ईनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ ।
पीडितहरूलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दुःख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।














