
मोरङ । प्रदेश १ को नामाकरणको सन्दर्भमा राजनीतिक दलहरु लचिलो बन्ने संकेत देखिएको छ । दलहरुको अडानका कारण चालु अधिवेशनबाट पनि प्रदेशको नामाकरण नहुने हो कि भन्ने आशंका बढेको बेला दलहरुले लचिलो हुने संकेत गरेका हुन् ।
शुक्रबारको सर्वदलीय बैठकपछि दलका नेताहरु आशावादी देखिएका छन् । बैठकमा दलहरुले आ–आफ्नो पूर्व अडानमा पुर्नविचार गर्न सकिने संकेत गरेका थिए ।
नेकपा माओवादी केन्द्र एकल पहिचानको अडान छोडेर बहुपहिचानमा जान सकिने तर पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने पक्षमा पुगेको छ । त्यसै गरी नेकपा एमालेले पनि ‘कोशी’ नामबाट पछि हट्ने संकेत गरेको छ ।
सर्वदलीय बैठकमा सत्तारुढ गठबन्धनका दुई नेता मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो तथा जयराम यादव, विष्णुमाया तुम्बाहाम्फेसहितका नेताहरुले प्रदेशको नाममा पहिचान जोडिनैपर्ने अडान राखेका थिए ।
सत्तारुढ दलका नेताहरुको यस्तो अडानपछि एमाले नेताहरु हिक्मतकुमार कार्की र जीवन घिमिरेले एमाले लचक हुन तयार रहेको बताएका थिए । कोशी एमालेको आधिकारिक निर्णयको नाम नरहेको भन्दै उनीहरुले सत्तारुढ दल लचक हुन तयार भए आफूहरु पनि लचक हुन तयार रहेको उनीहरुले संकेत गरेका छन् ।
दलहरुले सर्वदलीय बैठकलाई निरन्तरता दिने सहमति गर्दै छिटोभन्दा छिटो सहमति जुटाएर प्रक्रियामा लैजाने सहमति गरेका छन् ।
दलहरुबीच अब कांग्रेसको पहलमा बैठक बस्ने सहमति भएको छ । कांग्रेस नेता राजीव कोइरालाले भने, ‘हामी छिट्टै बैठक आयोजना गर्छौं ।’ कांग्रेस पनि लचिलो हुने अवस्था बने प्रदेश १ ले यसै अधिवेशनबाट नाम पाउनसक्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।











