Logo
Logo

एक महिनामा ८ बालविवाह रोकियो



दुल्लु, २६ पुस । दैलेखको डुंगेश्वर गाउँपालिका–२ लाँकुरीमा ८ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महिनामा ८ बालविवाह रोकिएको हो ।
वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएका हुन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो ।
गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको संख््यामा कमी आए पनि पछिल्लो समय बालविवाह गर्नेको संख््या बढेकाले वडा कार्यालय र त्यहाँ कार्यरत गैससले सक्रियता देखाएका हुन् । वडामा रहेको स्वास्थ्यचौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुनेबित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बालविवाहबाट हुने असर, बालविवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइएको थियो ।
केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्