Logo
Logo

खीर खाने दिनमा ‘उपेन्द्र सुब्बा हिट’ !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन । बुधबार १५ साउन बिहानै एक गायिकाले कवि तथा लेखक उपेन्द्र सुब्बासँगको तस्बिर पोस्ट गर्दै फेसबुकमा स्टाटस पोस्ट गरिन् । तस्बिरसँगै क्याप्सनमा लेखिएको थियो, ‘खीर खाने दिनको सबै सबैमा शुभकामना ।’
यो स्टाटस लेख्ने गायिका हुन्, सरला राई । त्यस्तै, अर्की गायिका सिला राईले पनि आफ्नो फेसबुक एकाउन्टमा लेखिन्, ‘हाउ यो खीर भन्ने बितिकै उपेन्द्र सुब्बा दाई नै सम्झिन्छु, असति मन पनि ।’
हो, साउन १५ लाई खीर खाने दिनका रुपमा लिइन्छ । तर, बुधबार खीरको भन्दा कवि तथा लेखक उपेन्द्र सुब्बाको बढी चर्चा भइरहेको छ । एक कलाकारका लागि यो नै सफलता हो ।


नेपाली फिल्म ‘कबड्डी’मा झाँक्री बाको भूमिका देखिएका उपेन्द्र सुब्बाले त्यसपछि ‘झाँक्री बा’को ट्याग नै पाएका छन् । आफैले लेखेको फिल्म ‘कबड्डी’मा उनलाई दुई मिनेटको भूमिकाले यति चर्चित भए भन्ने अहिले खीरको चर्चाले पुष्टि गरेको छ ।
उक्त फिल्म रिलिज भएको तीन वर्षभन्दा बढी भइसक्दा पनि उनको निर्वाह गरेको भूमिका दर्शकले बिर्सेका छैनन् । फिल्ममा ‘सन्तान नभएकी महिलालाई झारफुक गर्ने नाममा खीरमा बेहोश बनाउने औषधी मिसाएर खुवाएपछि बलात्कार गरेको’ भूमिका निर्वाह गरेका छन् । नेपाली समाजमा अझैपनि धामी झाँक्रीको नाममा हुँदै आएको विकृतिलाई ब्यंग गर्ने उपेन्द्रको उक्त भूमिकालाई खीर खाने दिनले स्मरण गराएको छ ।


माथि उल्लेखित गायिकाद्वयको स्टाटस उदाहरण मात्र हुन् । आज बुधबार दर्जनौँ कलाकारले उपेन्द्र सुब्बालाई सम्झिँदै खीर दिवश मनाएका छन् । गायिका तथा संगीतकार निलम रोजु राईले पनि कवि उपेन्द्र सुब्बासँगको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘दाजु हैन आज त खिर खाने दिन पो रे त नि ?’
वास्तवमै भन्नुपर्दा यो कवि उपेन्द्र सुब्बाको अपमान नभएर सम्मान हो । हरेक कलाकार आफ्नो स्टाइल र थेगोबाट चिनिन चाहन्छन् । तर, सबै सफल हुँदैनन् । चर्चित कवि तथा फिल्मका स्क्रिप्ट लेखक एवं कलाकार उपेन्द्र सुब्बा भने दुई मिनेटकै भूमिकाबाट चर्चित बनेका छन् । यु–ट्युब र पत्रपत्रिकाहरुमा उपेन्द्रको अन्तर्वाताहरु हेर्दा समेत थाहा हुन्छ कि उनी ‘झाँक्री बा’ भनेर कति चर्चित छन् भनेर । त्यस्तै आज उनी खीर खाने दिनमा पनि हिट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्