Logo
Logo

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै


567
Shares

काठमाडौं। सत्ता गठबन्धन दलद्वारा गठित निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न बनाइएको कार्यदलको बिहीबार बसेको बैठक आज बस्ने गरी टुङ्गिएको थियो ।

बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो । गठबन्धन दलहरूका आ(आफ्ना अडानसहित आजको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो ।

काँग्रेसका एक नेताका अनुसार विगतमा वाम गठबन्धन हुँदा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले जितेका स्थानमा नेपाली काँग्रेसका शीर्ष तहका प्रभावशाली नेताहरू रहेको र अहिलेको जनमत पनि काँग्रेसकै पक्षमा देखिएकाले राजनीतिक संवेदनशीलताको विषय उठेको हो ।

कार्यदलमा नेपाली काँग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्