Logo
Logo

राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग



काठमाडौं । काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पुनः संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको हो ।

अध्यक्ष विद्वान गुरूङले विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधिसभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष गुरूङले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘नागरिकता विहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ ।’ जनताको जीवनसँग जोडिएको विषयमा राष्ट्रपतिले खेलबाड र बेवास्ता गरेको तरुण दलको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्