Logo
Logo

प्रहरीमा ३० वर्षे सेवाहद हटाउने षड्यन्त्र



काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहको सरुवा–बढुवामा गृहमन्त्रीको सचिवालय हावी हुने गरेको छ भने उच्च तहमा प्रधानमन्त्रीपत्नी आरजु र उनका भाई भूषण राणाको कब्जा छ । आरजु–भूषणको समूह यतीबेला प्रहरीमा ३० वर्षे सेवाहद हटाउने रणनीतिमा अघि बढेका छन् ।

प्रहरीका उच्च अधिकारीले अवकाश पाउने समय नजिकिदै गएपछि यो खेल अघि बढेको छ । तर, निर्वाचनको घोषणा गरिसकेको सरकारले यस्तो निर्णय गर्न कठिन हुने अवस्था छ ।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अवधि पनि १० चैतसम्म मात्र छ । उनी पनि जसरी हुन्छ सेवाहद हटाउने पक्षमा छन् । तर, अहिलेको सरकार चुनावपछि फेरिन सक्ने भएकाले अहिले नै त्यसका लागि जोडबल नगरेको स्रोत बताउँछ । यद्यपि, अवकाश पाउन लागेका एआइजीहरू भने तत्काल हटाउनुपर्ने पक्षमा उभिएका छन् ।

३० वर्षे सेवाहद हटाउने–नहटाउने विषयमा हालै बढुवा भएका डिआइजीको टोलीमा पनि भर पर्छ । ३० वर्षे हटाउँदा उनीहरूको जागिर लम्बिए पनि आइजिपी हुने समय पछि मात्र आउँछ । तर, केही डिआइजीलाई भने फाइदासमेत हुने अवस्था छ । आइजिपी सिंह र डिआइजी दीपक थापा सेवाहद हटाउने विषयमा एकमत रहेको बताइन्छ । जसबाट अन्त डिआइजीहरू तर्सिएका छन् ।

चुनावपछि पनि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेमा भने सेवाहद हट्ने सम्भावना प्रबल रहेको स्रोत बताउँछ । गृहमन्त्री बालकृष्ण खाणले समेत आफु ३० वर्षे सेवाहद हटाउने पक्षमा रहेको सार्वजनिक रुपमै बताइसकेका छन् । बालुवाटरले डिल मिले सेवाहद हटाउने सम्भावना बढेको उच्च प्रहरी अधिकारीले बतएका छन् ।

प्रतिक्रिया दिनुहोस्