Logo
Logo

भावी आइजीका लागि लविङ सुरु



काठमाडौं । नेपाल प्रहरीमा रिक्त भएको एआइजीको एक पदमा बढुवाको लागि अस्वस्थ चलखेल अघि बढेको छ । विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएसँगै रिक्त पदमा अहिले एकल बढुवा हुन सके भावी आइजिपी पक्का हुने भन्दै दुई महिनाअघि बढुवा भएका डिआइजीहरू शक्तिकेन्द्र धाउन थालिसकेका छन् ।

तर, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भने तत्काल एकजनाको मात्र बढुवा गर्ने पक्षमा छैनन् । मंसिरसम्म एआइजीका चार पद रिक्त हुने र एकै पटक बढुवा गर्ने उनको तयारी छ । मंसिरसम्म मुकुन्दराज आचार्य, रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाउँदैछन् ।

एआइजी बढुवाकै लागि बरीयतामा अगाडि रहेका डिआइजीहरू प्रदेशसमेत नगई प्रहरी प्रधान कार्यालयमै बसेका छन् ।वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापालगायतले प्रदेश जान अस्वीकार गरेका हुन् । एआइजीका सशक्त दाबेदार पनि उनीहरू नै हुन् । उनीहरूमध्ये केही शक्तिको बलमा एकल बढुवाको दाउमा लागेको स्रोत बताउँछ । यसमा रुपेश पाण्डेलगायतका विवादास्पद पात्र तथा केही बिचौलियाहरू समेत सक्रिय बनेका छन् ।

विगतमा विश्वराज पोखरेललाई भावी आइजिपी बनाउन दरबन्दी नै थपेर एकल बढुवा गरिएको थियो । त्यो बढुवा चरम विवादमा प¥यो, अन्ततः त्यही कारण पोखरेलले एआइजीबाटै अपमानजनक रुपमा बर्हिगमन हुनुप¥यो । ब्याचमा एकल बढुवा गर्ने त्यो गलत नजिरलाई दोहो¥याउने पक्षमा आइजिपी छैनन् ।

तर, पनि बालुवाटारमा भइरहेको आर्थिक चलखेलले नहोला भन्न सकिन्न । ‘त्यो अवस्थामा गुप्तचरमा जस्तै एउटा दरबन्दी फेरि थपेर दुई जनाको बढुवा नहोला भन्न सकिन्न,’ गृह मन्त्रालयका एक अधिकारीले भने । दुई डिआइजीबीच टक्कर भएपछि सरकारले गुप्तचरमा एआइजीको एक दरबन्दी थपेर हुतराज थापा र ओम जोशीलाई गत बिहीबार बढुवा गरेको छ । भदौमा मुकुन्द आचार्यले पनि अवकाश पाउने भएकाले त्यसपछि दुई जनाको बढुवा हुने सम्भावना पनि छ ।

हुन त कात्तिकसम्म नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङकनको नम्बर दिने समय हुन्छ । त्यसपछि मात्र बढुवा प्रक्रिया सुरु हुन्छ । तर, त्यो काम छिटो सकाएर पनि बढुवा गरिएका नजिर छन् । मंसिरको निर्वाचनपछि नयाँ राजनीतिक समिकरण बन्न सक्ने र त्यो अवस्थामा आफु अनुकुल सरकारसमेत नरहन सक्ने भएकाले डिआइजीहरू अहिले नै दौडधुपमा लागेका हुन् । बालुवाटारका बिचौलियाहरूले एआइजीको पद लिलामीमा राखेर बार्गेनिङ गरिरहेको स्रोत बताउँछ ।

त्यस्तै, नेपाल प्रहरीमा एसएसपीका दुई दरबन्दी पनि थप्ने प्रक्रिया अघि बढेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र प्रहरी प्रधान कार्यालयमा एसएसपीका १–१ दरबन्दी थप हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्