Logo
Logo

साउदीमा महिलामाथि लगाइएको प्रतिबन्ध खुला, अब अनुमतिबिनै यात्रा


-एएफपी


रियाद, १७ साउन (एएफपी) । साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्रा्ष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ ।
बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । बिहीबार भएको सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न बाटो खुलेको छ ।
राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलालाई पुरुषसरह अधिकार दिएको बताइएको छ । यसअघि साउदी अरेबियामा महिलाले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो ।
महिला अधिकारकर्मीहरूले अभिभावक प्रणालीको विरूद्ध दशकौंसम्म अभियान सञ्चालन गर्दै आएका थिए । आदेशपछि साउदी अरेबियामा महिलाले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ ।
साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिंग अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकसँग सुरक्षित रहेको बताइएको छ ।
राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानको बीचमा यो निर्णय आएको छ । महिलालाई सवारी साधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए ।
सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उहाँले जारी गर्नु भएको योजना अनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पु¥याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्