
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले धार्मिक तथा सांस्कृतिक परम्पराका रुपमा निकालिने श्रीराधाकृष्ण रथयात्राको सफलताका शुभकामना व्यक्त गरेका छन् ।
उनले रथयात्रा निकाल्ने ऐतिहासिक परम्पराको अवसरमा पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह पनि गरेका छन् । प्रदेश १ को राजधानी विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान श्रीराधाकृष्णको रथयात्रा निकाल्ने ऐतिहासिक परम्परा छ । नेपालमा मात्र नभई दक्षिण एसियामै ठूलो मानिने यो रथयात्रामा लाखौं भक्तजन सहभागी हुने गरेका छन् ।
मख्यमन्त्री राईकाे सचिवालयले एक सुचना जारी गर्दै विगतका दुई वर्ष कोरोना संक्रमणका कारण प्रभावित भएको रथयात्रा यस वर्ष पनि जोखिम हटी नसकेकाले पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई उक्त सांस्कृतिक परम्परालाई अविच्छिन्न तुल्याउन श्रद्धालु भक्तजनहरूमा अपिल पनि गरेकाे छ। श्रीराधाकृष्ण रथयात्रा प्रदेश नं. १ कै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा होे । यस दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने प्रचलन केही वर्षदेखि सुरु गरेको छ ।
नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको उनको भनाइ छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्व तथा परम्पराको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।











