बुटवल । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध लागुऔषध मुद्दामा फसाउन खोजेको आरोपमा गुप्तामाथि पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएपछि गुप्ता फरार भएका छन् । जिल्ला सरकारी वकिलको कार्यलयले गुप्ताविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका गुप्तासँग रामाले कवाड कारोबार गर्दै आएका थिए । निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले प्रहरी निकायमा जानकारी गराएका थिए । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो ।














