
१. राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता विधेयक संघीय संसद्का दुबै सदनबाट हुबहु पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाइयो, विधेयक फिर्ता पठाउँदा पठाएको १५ बुँदे सुझावका विषयमा छलफल नभएको राष्ट्रपतिको दुखेसो, यसपटक भने विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतामा राष्ट्रपति ।
२. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थल कायम, जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा मतदानस्थल पुनरावलोकन, मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरियो ।
३. प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने विधेयकप्रति निर्वाचन आयोगको असहमति, कार्यकाल नयाँ हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गरेपछि पनि कायम रहनु उपयुक्त नदेखिने भनाइ, २०७४ मा हाल कायम रहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको कार्यकाल सम्बन्धमा व्यवस्था गरी सङ्घीय संसद्मा विधेयक पेश भएको विषयमा आयोगको ध्यानाकर्षण ।
४. पाँच दलीय सत्तागठबन्धनको कार्यदलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने, चुनावी तालमेल र सिट बाँडफाँडका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने सहमति भएको कार्यदलका सदस्यको भनाइ, दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँड गरिने ।
५. दुई दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुंगो लाग्ने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, अध्ययन कार्यदलको प्रतिवेदनकै आधारमा सिट बाँडफाँट गरिने, अघिल्लो निर्वाचनमा जितेको निर्वाचन क्षेत्र उसैलाई दिने सैद्धान्तिक सहमति ।
६. राष्ट्रिय पूँजीलाई औद्योगीकरण गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको जोड, देशको विद्यमान गरिबी न्यूनीकरण गर्न राष्ट्रिय पूँजीलाई औद्योगीकरण गरी न्यायोचित वितरण गर्ने वैज्ञानिक चिन्तन मार्क्सवादी चिन्तन भएको भनाइ, मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी ।
७. देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढावा दिनुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जोड, देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको भनाइ, बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेकाले आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने प्रतिवद्धता ।
८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एक कायम, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा पुग्यो, कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री ।
९. केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालद्वारा क्लिन स्विप, तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गर्यो, नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
१०. बेलायतको कन्जरभेटिभ पार्टीका नेतृ लिज ट्रस प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित, थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै, बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि ट्रसले औपचारिक रूपमा पदभार ग्रहण गर्ने ।














