
काठमाडौं । सम्झौताअनुसार काम नगरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता तोडेको छ ।
पटक-पटक म्याद थप गर्दा समेत काम परा हुन नसकेपछि चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।
उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।
तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम काम गर्नूको सट्टा समयमै काम सक्न बारम्बार ताकेता गरेर पटक-पटक म्याद थप गर्दा समेत काम नभएपछि ठेक्का रद्द गरिएको आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।
तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत रु ३ अर्ब ९२ करोडमा सम्झौता भएको थियो । उक्त कम्पनीले सम्झौता बमोजिम बैङ्क ग्यारेन्टीस्वरुप राखेको करिव ४९ करोड धरौटी रकम जफत गरिएको श्रेष्ठले बताए ।














