Logo
Logo

असोज १ देखि छुटमा खाद्यान्न वितरण


504
Shares

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो ।

हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए ।

लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम रु ६२, अरुवा मोटो रु ५८, बास्मती रु ११०, सोनामन्सुली रु ६५, अरुवा मकावनपुर रु ६० मा विक्री गर्दै आएको छ । बीस केजी चामलको रु १४०, २५ केजीको रु १७५, ३० केजीको रु २१० छुटमा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

चामल कम हुँदा वितरण स्थगित
उक्त शाखाको हुम्लास्थित गोदाममा चामल कम हुँदा अहिले वितरण कार्य बन्द गरेकोे छ । दशैँ नजिक आउन लाग्दा चामल कम भएकाले वितरण बन्द गरिएको जनाइएको हो । हुम्लामा विगतका वर्षमा समेत दशैँको मुखमा चामल अभाव हुँदै आएको छ ।

शाखाका निमित्त प्रमुख आचार्यले अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल रहेकाले वितरण स्थगित गरिएको बताए ।, ‘दशैँ नजिकै आउँदैछ गोदाममा चामल कम छ, त्यसैले असोज एक गतेदेखि वितरण गरिने भएकाले भदौ महिनामा विक्री वितरण स्थगित गरिएको हो’, उनले भने ।

एक पटक खाद्यान्न विक्री वितरण गर्न झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको छ । वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दशैँको मुखमा आफूहरूले नपाउने गरेको खार्पुनाथ गाउँपालिका–४ नैन बहादुर रावलले गुनासो गरे । उक्त गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिनादेखि खार्पुनाथबासीले चामल नपाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्