काठमाडौं । युवा संघले महाकाली मेची जागरण अभियान सम्पन्न गरेको छ । मुलुकमा भइरहेका अन्याय, अत्याचार, हिंसा, भ्रष्टाचारका साथै समसामयिक विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ करिब तीन साता लामो अभियानअन्तर्गत तराईका २२ जिल्लामा आमसभा गरिएको थियो ।

अभियानमा करिब चार लाख सर्वसाधरणले एक्यबद्धता जनाएको युवा सङ्घका अध्यक्ष नरेश शाहीले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाललगायतले अभियान सम्पन्न गरी फर्केको प्रतिनिधिमण्डललाई एक कार्यक्रमबीच स्वागत गरे ।
पार्टीको बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालको सहभागितामा भएको कार्यक्रममा महासचिव डा बेदुराम भुसालले मुलुकमा आसन्न निर्वाचनमा आम नागरिकलाई देशको विकृति, राजनीतिक अवस्थाका साथै शान्तिसुरक्षा, महङ्गी नियन्त्रणलगायत विषयमा सुसूचित गर्न युवाले गरेको अभियानको सराहना गरे ।












