काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन् ।
अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन् ।
नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी सोही दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्कर्ने कार्यक्रम छ ।












