काठमाडौं । नेकपा माओबादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले निर्वाचन प्रचारमा जान नपाउने आचार संहिताको व्यवस्थाको विरोध गरेका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठले राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा यस्तो बताएका हुन्। उनले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने, त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने, तर मन्त्रीहरुले आफैं उम्मेदवार भएको छ भने बाहेक अन्त निर्वाचन प्रचार नगर्ने भन्ने मिल्दैन ।’
सांसद श्रेष्ठले बरु राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने बताए । उनले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा परेको अप्ठ्यारो पनि सुनाए ।
सांसद श्रेष्ठले दलहरुले पाउने मत र त्यसका आधारमा पाउने सिट संख्या अनुमान योग्य हुने बताए ।












