
काठमाडौं । न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने मौसमविद हिरा भट्टराईले बताए ।
आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा हुने तर भारी वर्षाको सम्भावना नरहने उनले बताए ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।












