
काठमाडौं । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ।
शनिबारदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गरिएको हो। यात्रुले अनलाइनमार्फत् पनि टिक बुकिङ गर्न सक्नेछन्। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने छ।
यातायात व्यायावसायी र सरोकारवालाको भदौ २२ गते बसेको बैठकले अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने निर्णय गरेको छ । बेठकमा मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णसमेत गरिएको थियो ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको बताए। यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।












