
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा. बाबुराम भट्टराईले नागरिकता विधेयक कुनै बहानामा रोक्न नहुने बताएका छन् ।
संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै नागरिकता विधेयकसँग लाखौं नागरिकको भविष्य जोडिएकाले राष्ट्रपतिले कुनै पनि बहाना नबनाइ तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका हुन् ।
नागरिकता विधेयकमा रहेको कतिपय प्रावधान विभेदपूर्ण रहेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले भने– ‘नागरिकता विधेयकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने सन्दर्भमा विभेदपूर्ण व्यवस्था छ । अहिलेको समयमा विभेद स्वीकार्य छैन । तर, यो विषयलाई छोडेर हेर्ने हो भने नागरिकता विधेयकमा धेरै कुरा छ । त्यसैले राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ ।’
संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै डा. भट्टराईले संविधानमै कतै लुप होल पो छ कि ? भन्दै प्रश्नसमेत गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेका कारण संसदले अपेक्षाकृत काम गर्न नसकेको भन्दै उनले संविधानमा भएको लुप होल प्रयोग गरेर ओलीले त्यस्तो कदम चालेको हुनसक्ने आशंका व्यक्त गरे ।












