
१. लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित, अछामका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु हुँदा धेरै वेपत्ता, दार्चुलाका दुई पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग ।
२. राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गर्न नहुने नेताहरूको धारणा, धियेकमा केही विभेदयुक्त व्यवस्था रहेता पनि बाँकी व्यवस्थाले धेरै समस्या समाधान गर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको भनाइ, नागरिकता विधेयक रोकेर राष्ट्रपतिले द्वन्द्व बिजारोपण गर्न खोजेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोको आरोप ।
३. गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच पाँच बुँदे सहमति, सहमितसँगै काठमाडौंको माइतीघरमा साढे एक महिना लामो मिटरब्याज पीडितले गरेको आन्दोलन स्थगित, ऋणिका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन सरकारले आवश्यक व्यवस्था मिलाउने ।
४. दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुल्यो, लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको टिकट यात्रुले काउन्टर र अनलाइन दुवै माध्यमबाट बुकिङ गर्न सक्ने, अनलाइनमार्फत बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले छुट दिने ।
५. सरकारले एकैपटक झण्डै पाँच खर्बका दुई ठूला जलविद्युत् आयोजना सुरु गर्दै, हाल देशभित्र कूल जडित क्षमता बराबरका बूढीगण्डकी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजना सुरु गर्ने तयारी, कूल १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापना गरिसक्यो ।
६. राजनीतिक उथलपुथलका घटनाक्रमका बीच संघीय संसद्को पाँच वर्षे कार्यकाल पूरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण अपेक्षाकृत काम हुन नसकेको समीक्षा, दुई–दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना गर्नु नै सबैभन्दा ठूलो उपलब्धि ।
७. प्रतिनिधिसभाको अन्तिम बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलका शीर्ष नेताबीच घोचपेच, असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नेहरूलाई पनि साथमा लिएर अघि बढ्न सकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा, आफूले चालेको कदम ठीक रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी, प्रतिगमन परास्त गर्न सफलता मिलेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ ।
८. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिने काम महाभियोग सिफारिस मितिले सम्पन्न गर्यो, जबराविरुद्धको महाभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई, महाभियोग लगाउन प्रमाण नपुग्ने भन्दै एमालेद्वारा जबराको बचाउ ।
९. गण्डकी प्रदेशमा यसै महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरको पहिलो दिन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ट्रफी प्रदर्शन गरियो, ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, भलिबल कप्तान अरुणा शाही, अल्ट्रा धाविका मिरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहभागी, ५ केजी चाँदी, २ तोला सुन प्रयोग गरेर बनाइएको ट्रफी सबै प्रदेशमा प्रदर्शन गरिने ।
१०. लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने, मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन, लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेड क्रसको सहकार्यमा स्वदेश फर्काइने ।












