Logo
Logo

देउवाले समानुपातिकको बन्दसूची नसच्याए विद्रोह गर्छौं : शेखर समूह


2.5k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ ।

राजधानीमा शनिबार खबरदारी सभामा बोल्दै नेता जगदिश्वरनर सिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेटपनि छलफल नगरेको बताए ।

सभापतिमा निर्वाचित भएपछि गुटको नभई सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको भन्दै भने, ‘गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म छलफल गर्ने हाम्रा सभापतिले हामीलाई १८ मिनेट पनि समय दिनुभएको छैन। उहाँ गुटभन्दा माथि उठ्न सक्नुभएन। समानुपातिकको सूची नसच्चिए हामी विद्रोह गर्छौँ ।’

त्यस्तै, नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउनका निम्ति विनम्रपूर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने चेतावनी दिए । ‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ। एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ। होइन भने सबैलाई न्याय गर्नुस्। हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौँ। सुनुवाई नभए विद्रोह गर्छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्