सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ ।

धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका मानबहादुरले भने, ‘पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।’ पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ । यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ ।
यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ । उनले भने, ‘पहिलेको भन्दा महँगी बढेको भएर पनि अपेक्षा गरेअनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुनसक्छ ।’ उनीसहितको समूहले तीन दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गैरहेका छन् ।
अर्का किसान दानबहादुर बुढाले दसैँको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौँ र पोखरासम्म पु¥याउने गरिएको बताउछन् । उनले भने, ‘यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन ।’ चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५/४० वटा बाख्रा पाल्ने गरेका छन् ।
व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाए । ‘स्थानीय क्षेत्रमा जीउँदो खसी मुस्किलले प्रति किलो रु पााच सय ५० मा खरिद बिक्री भइरहेको छ’, बोहराले भने, ‘पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ ।’ क्तिपीठमा राँगा, बोकाको बलि दिने चलन भने कायम नै छ ।














