गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् ।

यहाँस्थित सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।
‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन । संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो’, उनले भने । उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । ‘पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो’, उनले भने, ‘अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’
फरक प्रसङ्गमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए । ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन’, उनले भने, ‘गोरखाको भूगोल, संंस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’
उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो ।











