Logo
Logo

वृन्दावनको पदयात्रा मोडेल पशुपतिनाथ र जनकपुरधामबाट सुरुवात गरौँ


डा.सुनिल आचार्य

252
Shares

वृन्दावन भारतको उत्तर प्रदेश राज्यको मथुरा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सहर हो । भगवान् श्रीकृष्णको बाललीला तथा राधा कृष्णको प्रेम र भक्तिसँग सम्बन्धित पवित्र स्थलका रूपमा विश्वभर परिचित छ ।

यहाँ बाँके बिहारी मन्दिर, प्रेम मन्दिर, इस्कॉन मन्दिर र राधारमण मन्दिरजस्ता प्रसिद्ध धार्मिक स्थलहरू रहेका छन् । दैनिक पूजा, भजन कीर्तन, धार्मिक उत्सव, मन्दिर दर्शन र तीर्थ परिक्रमाले यहाँको धार्मिक जीवनलाई जीवन्त बनाएको छ । मन्दिर, आश्रम, धर्मशाला, यातायात, आवास तथा तीर्थयात्रीमैत्री सेवाको विकासका कारण वृन्दावन भारतको प्रमुख धार्मिक पर्यटन गन्तव्य बनेको छ । जहाँ देश विदेशबाट लाखौँ श्रद्धालुहरू आउने गर्छन् ।

वृन्दावनको मेरो स्थलगत धार्मीक भ्रमणको अनुभवले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ ? धार्मिक स्थलमा आउने भक्तहरुलाई दर्शन गराएर फर्काउने कि उनीहरूलाई व्यवस्थित धार्मिक पदयात्रा, सांस्कृतिक अनुभव र स्थानीय जीवनसँग जोडेर गन्तव्यको समग्र अनुभव दिने ?

नेपालका लागि यो प्रश्नले विशेष महत्त्व राख्दछ । हाम्रो देशमा धार्मिक सम्पदा र तीर्थस्थलको कमी छैन । तर धेरै स्थानमा दर्शन, सार्वजनिक तथा निजी यातायातको उपलव्धता, सरसफाइ तथा भोजनको उपलव्धता, सम्मानजनक व्यवहार, सूचनाको पर्याप्तता तथा उपलव्धता, धार्मीक इतिहासको व्याख्या, पसल तथा धार्मीक समाग्रीको व्यवस्थापन र सार्वजनिक सुविधाबीच पर्याप्तको अवस्थामा भर पर्छ । परिणामतःतीर्थयात्रीले असुविधा भोग्छन्, सम्पदामाथि दबाब बढ्छ र स्थानीय समुदायले प्राप्त गर्न सक्ने आर्थिक लाभमा सीमितता आउछ ।

अब नेपालले वृन्दावनको मोडेललाई जस्ताको तस्तै नक्कल गर्नुभन्दा त्यसका उपयोगी पक्ष पदयात्राको व्यवस्थापन, स्वच्छता, धार्मिक वातावरण, स्पष्ट सूचना, भीड नियन्त्रण र स्थानीय व्यवसायको सहभागितालाई आफ्नै धार्मिक तथा सांस्कृतिक परिवेशअनुसार कार्यान्वयन गर्दा प्रभावकारी हुन्छ । यसका लागि पहिलो चरणमा दुई स्थानलाई नमुना धार्मीक गन्तव्य बनाउन सकिन्छ । काठमाडौंको पशुपतिनाथ क्षेत्र र मधेश प्रदेशको जनकपुरधाम ।

पशुपतिनाथ नेपालको प्रमुख हिन्दू तीर्थस्थल हुनुका साथै काठमाडौं उपत्यकाको विश्वसम्पदा क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण सम्पदा हो । मन्दिर, नदी, घाट, आश्रम र आसपासका धार्मिक संरचनालाई जोडेर यहाँ व्यवस्थित धार्मिक पदयात्रा विकास गर्न सकिन्छ । काठमाडौंमा खुला क्षेत्र कमी भएको सन्दर्भ र मोडिङ वाक गर्ने सन्दर्भ जोडन सकिन्छ । जुनकुरा नेपाल पर्यटन बोर्ड र पशुपति क्षेत्र विकास कोषले प्रकाशित गरेका विवरणमा यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वमा उल्लेख गरिएको छ । तर धार्मिक पदयात्रा भन्नाले मन्दिरसम्म पुग्ने बाटोमा ढुङ्गा बिछ्याउने वा सजावट गर्ने काम मात्र बुझ्नु हुँदैन । यसको अर्थ तीर्थयात्रीले कहाँबाट यात्रा सुरु गर्ने, कुन मार्गबाट कुन सम्पदा हेर्ने, कहाँ विश्राम गर्ने, धार्मिक इतिहास कहाँ बुझ्ने, फोहोर कहाँ व्यवस्थापन गर्ने र भीड बढेमा कसरी सुरक्षित रूपमा आवागमन गर्ने भन्ने समग्र व्यवस्थाको पक्ष हो । यसका लागि पशुपति क्षेत्रलाई तीन भागमा व्यवस्थित गर्न सकिन्छ ।

पहिलो, मुख्य मन्दिर दर्शन र आसपासका स्वीकृत धार्मिक मार्ग । दोस्रो, बागमती नदी, घाट र अन्य धार्मिक सम्पदासँग सम्बन्धित मार्ग । तेस्रो, धार्मिक इतिहास, वास्तुकला, सांस्कृतिक परम्परा र नदी संरक्षणबारे जानकारी दिने व्याख्यात्मक मार्ग । यी मार्गको अन्तिम नक्सा प्राविधिक अध्ययन र धार्मिक संस्थासँगको परामर्शबाट तयार गर्नुपर्छ । मन्दिरको पूजा व्यवस्था, धार्मिक मर्यादा र विद्यमान आवागमनलाई बाधा नपर्ने गरी पैदलयात्रा सञ्चालन गर्नुपर्छ ।

पशुपतिनाथमा पहिलो चरणमा गर्नुपर्ने कामहरुः–
१. स्पष्ट प्रवेश र निकासको व्यवस्थाः तीर्थयात्रीको चाप बढी हुने स्थानमा प्रवेश, निकास, प्रतीक्षा र विश्रामका क्षेत्र छुट्याउनुपर्छ । पर्वका समयमा एकतर्फी पैदल आवागमन लागू गर्न सकिने मार्ग पहिचान गर्नुपर्छ ।

२. स्वच्छता र फोहोर व्यवस्थापनः पर्याप्त फोहोर सङ्कलन केन्द्र, नियमित सरसफाइ, सार्वजनिक शौचालय र खानेपानीको व्यवस्था गर्नुपर्छ । नदी र घाटमा पूजा सामग्री तथा अन्य फोहोर जथाभावी फाल्न नपाइने व्यवस्था प्रभावकारी बनाउनुपर्छ । पूजा सामग्रीको उचित व्यवस्थापनका लागि धार्मिक संस्थासँग सहकार्य तथा समन्वय आवश्यक छ ।

३. धार्मिक पदयात्राको नक्साः प्रवेशद्वार, प्रमुख धार्मिक स्थल, विश्रामस्थल, शौचालय, सहायता केन्द्र र आपत्कालीन निकास देखाउने नक्सा राख्नुपर्छ । नेपाली, हिन्दी र अंग्रेजी भाषामा सूचना दिन सक्नु पर्छ ।

४. प्रशिक्षित स्वयंसेवक र गाइडः स्थानीय युवालाई धार्मिक इतिहास, सम्पदा संरक्षण, प्राथमिक उपचार र भीड व्यवस्थापनसम्बन्धी तालिम दिएर परिचालन गर्न सकिन्छ । धार्मिक गाइडको विकासगरी प्रमाणित ऐतिहासिक जानकारी दिनुपर्ने व्यवस्था गर्नुपर्छ ।

५. बागमती संरक्षणलाई पदयात्रासँग जोड्नेः धार्मिक पर्यटनको गुणस्तर नदी र घाटको सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित छ । त्यसैले नदी प्रदूषण नियन्त्रण, ढल व्यवस्थापन र घाटको संरक्षणलाई पर्यटन योजनाको अनिवार्य हिस्सा बनाउनुपर्छ ।

यी कामका लागि पशुपति क्षेत्र विकास कोषले नेतृत्व लिनु उचित हुन्छ । काठमाडौं महानगरपालिका, सम्बन्धित वडा, सुरक्षा निकाय, सरसफाइसग सम्वन्धित सेवा प्रदायक संस्था र धार्मिक संस्थाबीच कार्यविभाजनसहितको संयुक्त व्यवस्थापन तथा कार्यान्वयन संयन्त्र आवश्यक हुन्छ ।

दोस्रो चरणमा जनकपुरधाममा राम जानकी धार्मिक पदयात्रा निर्माण गर्ने
जनकपुरधामलाई धार्मिक पर्यटनको व्यवस्थित गन्तव्य बनाउने आधार पहिले नै उपलब्ध छ । जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, गंगासागर, धनुषसागर र मिथिला संस्कृतिसँग सम्बन्धित सम्पदाले यस क्षेत्रलाई विशिष्ट बनाएको छ । नेपाल पर्यटन बोर्ड तथा सरोकारवाला संस्था तथा स्थानीय समितिले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न सक्छ । जनकपुरधाम उपमहानगरपालिकाले हेरिटेज रुट र सम्पदाहरु सार्वजनिक गरीसकेको छ । अव फेरी नयाँ अवधारणा अनुसार शून्यबाट सुरु गर्ने होइन । विद्यमान सम्पदा, स्थानीय योजनाहरू र धार्मिक परम्परालाई समेटेर कार्यान्वयनयोग्य पदयात्रा प्रणाली लागु गर्नु पर्छ ।

जनकपुरधाममा ‘राम जानकी धार्मिक तथा मिथिला सांस्कृतिक पदमार्ग’ नामको नमुना कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसको उद्देश्य जानकी मन्दिरमा दर्शन गरेर फर्किने यात्रालाई व्यवस्थित बहुस्थलीय भ्रमणमा रूपान्तरण गर्नु हो ।

यस पदमार्गमा जानकी मन्दिरबाट सुरु हुने रुटलाई राम मन्दिर, विवाहमण्डप, गंगासागर र धनुषसागर लगायतसँग जोड्न सकिन्छ । प्रत्येक स्थानको धार्मिक महत्त्व, इतिहास र स्थानीय परम्पराको प्रमाणित विवरणसहित सूचना पाटी राख्नुपर्छ । पदयात्राको वास्तविक दूरी, यात्रा अवधि र प्रवेशयोग्य मार्गको अध्ययनपछि दुई प्रकारका विकल्प बनाउन सकिन्छ छोटो अवधिको दर्शन पद मार्ग र विस्तृत वा लामो धार्मिक सांस्कृतिक पद मार्ग ।

जनकपुरधाममा गर्नुपर्ने प्राथमिकताका पाँच कामहरु –
१. पैदलयात्रीमैत्री मार्गः प्रमुख धार्मिक स्थलबीचको पैदल आवागमन सुरक्षित बनाउने, आवश्यक ठाउँमा फुटपाथ सुधार गर्ने, सडक पार गर्ने सुरक्षित स्थान बनाउने र अनधिकृत अवरोध हटाउने काम गर्नुपर्छ । पुरातात्त्विक तथा धार्मिक संरचनामा असर पर्ने गरी अनियन्त्रित विकास निर्माण गर्नु हुँदैन ।जस्ले गर्दा आस्था र धरोहर समाप्त हुन सक्छ ।

२. पोखरी र धार्मिक परिसरको सरसफाइः गंगासागर र धनुषसागरजस्ता स्थलको स्वच्छता, पानीको गुणस्तर, शहरको मुख्य चुनौती रहेको फोहोर व्यवस्थापन र आसपासको सार्वजनिक स्थानको संरक्षणलाई नियमित कार्ययोजनामा राखी कार्यान्वयन गर्नु पर्दछ ।

३. स्थानीय संस्कृतिको अनुभवः मिथिला चित्रकला, मैथिली भाषा, स्थानीय परिकार, लोकसंगीत र परम्परागत सांस्कृतिक प्रस्तुतिलाई स्थानीय समुदायको नेतृत्वमा धार्मीक तथा पर्यटकीय अनुभवसँग जोड्न सकिन्छ । संस्कृति प्रदर्शनलाई कृत्रिम बनाउनुको सट्टा यसको मौलिकता जोगाउन ध्यान दिनु पर्छ ।

४. व्यवस्थित स्थानीय बजारः पूजा सामग्री, मिथिला चित्रकला, स्थानीय हस्तकला र परिकार बिक्री गर्ने व्यवसायलाई निश्चित तथा व्यवस्थित स्थान उपलब्ध गराउनुपर्छ । मूल्यसूची स्पष्ट राख्ने, सरसफाइको मापदण्ड पालना गर्ने र पर्यटकलाई अनावश्यक सामान खरिदमा दबाब नदिने व्यवस्था लागु गर्नु आवश्यक हुन्छ ।

५. बहुभाषिक सूचना र डिजिटल सेवाः धार्मिक मार्गको नक्सा, गाइडको सम्पर्क, शौचालय, खानेपानी, प्राथमिक उपचार, यातायात र आवासको विवरण डिजिटल माध्यममा उपलब्ध गराउनुपर्छ । क्यूआर कोडबाट प्रत्येक स्थलको प्रमाणित इतिहास पढ्न सकिने व्यवस्था गर्नु पर्छ ।

यस कार्यक्रमको नेतृत्व जनकपुरधाम उपमहानगरपालिकाले लिनुपर्छ । मधेश प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, सम्बन्धित धार्मिक संस्थाहरू, स्थानीय व्यवसायी र समुदायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुन्छ ।

अव वृन्दावनको मोडेलमा कसरी कार्यान्वयन गर्ने त ?
यहाँ,वात्सल्य ग्राम, कृष्ण प्रणामी आश्रम तथा विभिन्न वैष्णव सन्तहरूका आश्रमहरू, प्रेमानन्द जी महाराजजस्ता प्रख्यात सन्तहरूको सत्सङ्गस्थलले पनि ठूलो धार्मिक आकर्षण सिर्जना गरेका छन् । त्यसैले यहाँबाट सिक्नुपर्ने मुख्य कुरा तीर्थयात्राको सम्पूर्ण व्यवस्थापन हो । नेपालमा यसको कार्यान्वयन निम्न चरणमा गर्न सकिन्छ ।

प्रथम चरणमाः पहिलो तीन महिनामा आधारभूत अध्ययन गर्ने
दुवै गन्तव्यमा तीर्थयात्रीको आवागमन, बढी भीड हुने समय, विद्यमान पैदल मार्ग, सरसफाइको अवस्था, व्यवसायको स्थान, सुरक्षा जोखिम र सार्वजनिक सुविधाको नक्साङ्कन गर्नुपर्छ । स्थानीय समुदाय, धार्मिक संस्था, महिला समूह, अपाङ्गता भएका व्यक्तिका प्रतिनिधि, व्यवसायी र तीर्थयात्रीसँग परामर्श गर्नुपर्छ । कुन ठाउँमा सुधार आवश्यक छ र कति खर्च लाग्छ भन्ने आधार लिनु पर्छ । वास्तविक आगन्तुक संख्या र विद्यमान योजनाको समीक्षा नगरी अनुमानका भरमा बजेट विनियोजन गर्नु हुँदैन ।

दोस्रो चरणमाः तीनदेखि छ महिनामा व्यवस्थापन योजना सञ्चालन गर्ने
प्रत्येक गन्तव्यका लागि छुट्टाछुट्टै पदयात्रा नक्सा, सरसफाइ योजना, प्रवेश तथा निकास व्यवस्था, सूचना प्रणाली र जिम्मेवारी बाँडफाँट तयार गर्नुपर्छ । नियमित दिन र पर्वका दिनका लागि अलग भीड व्यवस्थापन योजना आवश्यक हुन्छ । धार्मिक स्थलको स्वामित्व, पूजा विधि र धार्मिक मर्यादामा असर नपर्ने गरी स्थानीय व्यवस्थापन समिति र सम्बन्धित निकायको सहमति लिनुपर्छ ।

तेस्रो चरणमाः छ देखि बाह्र महिनाको नमुना कार्यक्रम सञ्चालन गर्ने
दुवै गन्तव्य स्थलमा सीमित क्षेत्रमा नमुना पदयात्रा सञ्चालन गर्नुपर्छ । सूचना पाटी, दिशासूचक, फोहोर सङ्कलन केन्द्र, विश्रामस्थल, सहायता केन्द्र र प्रशिक्षित स्वयंसेवक परिचालन गर्नु पर्छ । नमुना सञ्चालनको अवधिमा आगन्तुकको प्रतिक्रिया, सरसफाइको नियमितता, पैदल आवागमनको सहजता, सुरक्षा र स्थानीय व्यवसायमा परेको प्रभाव मापन गर्नुपर्छ । कमजोरी सच्याएपछि मात्र सम्पूर्ण क्षेत्रसम्म कार्यक्रम विस्तार गर्नुपर्छ ।

चैथो चरणमाः दोस्रो र तेस्रो वर्षमा सेवा विस्तार गर्ने
पहिलो वर्षको मूल्याङ्कनका आधारमा थप मार्ग, विश्रामस्थल, डिजिटल सूचना, स्थानीय गाइड सेवा र व्यवसाय व्यवस्थापन विस्तार गर्नुपर्छ । स्थानीय युवालाई धार्मिक पर्यटन, प्राथमिक उपचार, भाषा र आतिथ्य सम्बन्धी तालिम दिनु उपयुक्त हुन्छ ।

पाचौं चरणमाः चौथो र पाँचौँ वर्षमा दिगोपन र विस्तार गर्ने
पाँचवर्षे कार्यक्रमको प्रभावकारिता स्वतन्त्र रूपमा मूल्याङ्कन गर्नुपर्छ । कुन लगानीले आगन्तुकको अनुभव सुधा¥यो, कुन सेवाले स्थानीय रोजगारी बढायो र कुन व्यवस्थापन प्रणाली नियमित रूपमा सञ्चालन हुन सकेन भन्ने समीक्षा गर्नुपर्छ । सफल अभ्यासलाई अन्य धार्मिक स्थलमा विस्तारमा नमुना मोडलको रुपमा लागु गर्न सकिन्छ ।

दुवै स्थानमा प्रारम्भिक कार्यक्रमका लागि विस्तृत लागत अनुमान तयार गर्नुपर्छ । अध्ययन, मार्ग सुधार, सरसफाइ, संकेत पाटी, डिजिटल सूचना, तालिम र मर्मत सम्भारलाई छुट्टाछुट्टै बजेट शीर्षकमा राख्नुपर्छ । संघीय सरकारले नीतिगत समन्वय र आवश्यक प्राविधिक तथा आर्थिक सहयोग दिन सक्छ । प्रदेश सरकारले क्षेत्रीय पर्यटन प्रवद्र्धन तथा पूर्वाधारमा सहयोग गर्न सक्छ । स्थानीय तहले सरसफाइ, सार्वजनिक सुविधा, स्थानीय व्यवसाय व्यवस्थापन र दैनिक अनुगमनको नेतृत्व लिनुपर्छ । धार्मिक संस्थाले धार्मिक मर्यादा, दर्शन व्यवस्थापन र सम्पदाको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्छ ।

हरेक तीन महिनामा प्रगति समीक्षा र प्रत्येक वर्ष सार्वजनिक प्रतिवेदन प्रकाशित गर्ने व्यवस्था गर्नुपर्छ । प्रतिवेदनमा खर्च, सम्पन्न काम, आगन्तुकको प्रतिक्रिया, फोहोर व्यवस्थापन, गुनासो समाधान र स्थानीय रोजगारीको विवरण समेत समावेश हुनुपर्छ ।

पाँच वर्षमा के उपलब्धि हासिल गर्ने ?
प्रारम्भिक आधारभूत सर्वेक्षणपछि परिमार्जन गर्ने सर्तमा निम्न लक्ष्य प्रस्ताव गर्न सकिन्छ ।
–पशुपतिनाथ र जनकपुरधाममा कम्तीमा दुई पूर्ण रूपमा व्यवस्थित नमुना धार्मिक पदमार्ग सञ्चालन गर्ने ।

–दुवै गन्तव्यमा प्रमुख मार्ग, दिशासूचक र बहुभाषिक सूचना प्रणाली स्थापना गर्ने ।

–सबै निर्धारित मार्गमा नियमित सरसफाइ, सार्वजनिक शौचालय र फोहोर व्यवस्थापनको सेवा सुनिश्चित गर्ने ।

–प्रशिक्षित स्थानीय गाइड तथा स्वयंसेवकको प्रणाली विकास गर्ने ।

–आगन्तुक सन्तुष्टि, गुनासो समाधान, स्थानीय व्यवसायको सहभागिता र रोजगारीको आधारभूत तथ्याङ्क राख्ने ।

–आधार वर्षको तुलनामा आगन्तुकको औसत बसाइ अवधि र स्थानीय खर्च बढाउने लक्ष्य तय गर्ने ।

यी लक्ष्यलाई उपलब्धि घोषणा गरेर होइन, तथ्याङ्कबाट प्रमाणित गर्नुपर्छ । उदाहरणका लागि, सरसफाइका लागि छुट्याइएको बजेट खर्च भयो कि भएन भन्ने मात्र होइन, फोहोर सङ्कलन नियमित भयो कि भएन भन्ने पनि मापन गर्नुपर्छ । पर्यटकको संख्या बढ्यो कि बढेन भन्ने मात्र होइन, उनीहरूको अनुभव राम्रो भयो कि भएन र स्थानीय समुदायले कति लाभ पाए भन्ने पनि हेर्नुपर्छ ।

धार्मिक सम्पदालाई व्यवस्थित अनुभवका आधारमा रूपान्तरण गरौँ । नेपालले धार्मिक पर्यटनमा प्रगति गर्न हरेक ठाउँमा भव्य संरचना बनाउनैपर्छ भन्ने छैन । कतिपय अवस्थामा स्पष्ट पदयात्रा मार्ग, स्वच्छ सार्वजनिक क्षेत्र, सुरक्षित आवागमन, प्रमाणित सूचना, प्रशिक्षित गाइड र स्थानीय व्यवसायको व्यवस्थित सहभागिताले नै ठूलो परिवर्तन ल्याउन सक्छ ।

वृन्दावनको अनुभवबाट नेपालले सिक्ने कुरा यही हो–धार्मिक आस्थालाई सम्मान गर्दै तीर्थयात्राको सम्पूर्ण अनुभव व्यवस्थित बनाउने । अब नयाँ घोषणा थप्नेभन्दा विद्यमान सम्पदाको व्यवस्थापन सुधार्ने,बजेट छुट्याउनेभन्दा परिणाम मापन गर्ने, पर्यटकलाई केवल दर्शनार्थीका रूपमा हेर्नेभन्दा संस्कृति, स्थानीय समुदाय र अर्थतन्त्रसँग जोडिएको अतिथिका रूपमा स्वागत गर्ने । नेपालको धार्मिक पर्यटनको रूपान्तरण भव्य भवनबाट मात्र होइन, स्वच्छ बाटो, व्यवस्थित पदयात्रा, सम्मानजनक सेवा र स्थानीय समुदायको प्रत्यक्ष लाभबाट सुरु गर्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्