
काठमाडौं । एमाले परित्याग गर्दै रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गएका नेता घनश्याम भुसाल अहिले पार्टीविहीन छन् ।
एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका घनश्यामलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । गठबन्धनमा सिट बाँडफाँट गर्दा रुपन्देही–१ माओवादीको भागमा गरेको थियो । तर, घनश्यामले स्वतन्त्र उम्मेदवारी दिने भएपछि माओवादीले समर्थन गर्दै उक्त क्षेत्र छोडेको छ ।
माओवादीले समर्थन गरेसँगै घनश्याम माओवादीको चुनावी कार्यक्रम र आन्तरिक बैठकहरुमा समेत सहभागी हुन थालेका छन् ।
भुसाल शनिबार रुपन्देहीमा आयोजित माओवादीको विस्तारित बैठकमा सहभागी भएका छन् । बैठकमा सहभागी भुसालले माओवादी र माओवादी अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै नेता भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना गराउने नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नै रहेको भन्दै प्रशंसा गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै नेता भुसालले भने– ‘वाम–लोकतान्त्रिक गठबन्धनको स्पिरिट अहिलेको अवश्यकता हो । दुई पटक संसद् विघटन भयो । जसले जे भनेपनि पहिलो पटक संसद् विघटन हुँदा त्यसको पुनःस्थापना गर्ने नेता प्रचण्ड नै हो । दोस्रो पटकका शेरबहादुर देउवा हुन् । त्यसैले वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य छ ।’
बैठकलाई सम्बोधन गर्दै नेता भुसालले वाम–लोकतान्त्रिक गठबन्धनभित्र कसैले आशंका गर्न नहुने बताउँदै माओवादी केन्द्रका फौज चुनावको दिनमा भारी मत बोकेर फर्कने समेत दाबी गरे ।











