Logo
Logo

काठमाडौं-७ : रामवीर मानन्धर भन्छन्- म जनताको मतले जित्छु


10.9k
Shares

काठमाडौं । काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामवीर मानन्धर आफ्नो जित हुनेमा ढुक्क छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी यसपटक स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पूर्वराज्यमन्त्रीसमेत रहेका मानन्धर भन्छन्, ‘अघिल्लोपटक पनि एमालेका कार्यकर्ताको मात्र मतले जितेको होइन, यहाँका जनताको मतले जित हासिल गरेको हुँ ।’
काठमाडौं–७ मा एमालेको सक्रिय सदस्य १५/१६ सय पनि नभएको भन्दै उनले भने, ‘मैले यो क्षेत्रमा १८ हजारभन्दा बढी मत ल्याएर जितेको हुँ ।’

यो आफ्नो अन्तिम निर्वाचन भएकोसमेत उनले बताए । त्यसैले आफूले गरेका बाँकी कामहरु पूरा गर्ने सोचले यसपटक स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । दृष्टिन्युजसँग मानन्धरले भने, ‘यो मेरो अन्तिम निर्वाचन हो । हारेपनि जितेपनि अर्को निर्वाचन लड्दिनँ ।’

उनले घण्टाघर चुनाव चिन्ह पाएका छन् । अहिले उनी काठमाडौं–७ का जनतालाई चुनाव चिन्ह ‘घण्टाघर’मा मतदान गर्न आह्वान गरेका छन् । ‘काठमाडौं–७ को विकास र सभ्यताको संरक्षणका लागि पनि मंसिर ४ गते हुने निर्वाचनमा चुनाव चिन्ह ‘घण्टाघर’ मतदान गर्न सबैमा अनुरोद्ध गर्दछु’ उनले भने ।

मानन्धर काठमाडौं–७ का जनतामाझ लोकप्रिय छन् । सरकारमा बसेर होस् वा बाहिरी समाजमा गरेका आफ्ना कामबाट काठमाडौं–७ का जनता सन्तुष्ट रहेको उनको भनाइ छ ।

देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्नका लागि पनि आफूले स्वतन्त्र उम्मेदवारी बताउँदै उनले भने, ‘देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको छ । संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो । म आत्मविश्वासका साथ भन्नसक्छु जनताले राम्रो मान्छे मन पराउँछ । जसले काम, विकास गरेको छ त्यसैलाई जिताउँछन् ।’

काठमाडौं–७ मा २०४९ सालदेखि राजनीतिमा सक्रिय मानन्धर वडा अध्यक्ष हुँदै राज्यमन्त्रीसम्म भएर विकासको काममा लाग्दै आएका हुन् । उनले भने, ‘यहाँका जनताले मेरो कामलाई हेरेर पनि मत दिनेछन् भन्नेमा म विस्वस्त छु । त्यहीमाथि यो मेरो अन्तिम चुनाव हो । अर्को पटक चुनाव लड्दिन । मैले थालेका अधुरा कामहरु पूरा गर्नका लागि पनि यहाँका जनताले मलाई मत दिनुपर्छ भन्ने मेरो धारणा हो ।’

काठमाडौं–७ मा मानन्धरसँग नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराइले प्रतिस्पर्धा गर्दैछन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

गठबन्धनले मानुषीलाई जिताउने अभियान नै चलाएको छ । नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले पनि यो क्षेत्रमा राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले पनि यो क्षेत्रमा आफूहरुले जित्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्