Logo
Logo

डेंगु सङ्क्रमण ह्वातै घट्यो


567
Shares

काठमाडौँ । वर्षायामसँग बढेको डेंगुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगुको सङ्क्रमण पनि कम हुदै गएको छ ।

वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मंगलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म छ सय २४ जनामा मात्र डेंगुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

जवकी अंग्रेजी महिना अक्टोबरमा (गत असोज १५ देखि कात्तिक १५सम्म) मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेंगुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेंगुका बिरामी घटेको बताए ।

महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा. गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेंगुको सङ्क्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए । उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेंगुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेंगुको सङ्क्रमण देखिएको छ ।

उनले अवको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेंगु -१, डेंगु-२, डेंगु-३ र डेंगु-४ चार प्रकारका देखिएका थिए ।

महाशाखाका निर्देशक डा. दासले सङ्क्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेंगु-१ र पाँच वटा नमूनामा डेंगु-३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेंगु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष (आइसियु) र छजना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेंगुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए ।

उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेंगुका बिरामी घटेको बताउछन् ।

उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताउछन् । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण हुने गर्दथ्यो ।

नेपालमा यसवर्ष सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेंगुका बिरामी भेटिएका छन् ।

तीमध्ये ५४ जनाको डेंगुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेंगुका बिरामी घटेको बताउछन् । उनका अनुसार अहिले २० जना मात्र डेंगुका बिरामी उपचारत रहेका छन् ।

नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ ।

तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्