Logo
Logo

यस्तो छ घनश्याम भुसालको चुनावी प्रतिबद्धता


819
Shares

काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ ।

युवाहरूलाई सिपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार भूसालले प्रतिबद्धतापत्रमा भनिएका र सुरु गरेका विकास योजना कार्यान्वयनमा प्रतिबद्ध हुने बताए । आफ्नो प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधन गरी १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ ।

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालन गर्ने र क्षेत्रगत प्राविधिक शिक्षा सुरु गर्ने र स्कुल तथा क्याम्पसको स्तरोन्नति गर्ने भनिएको छ ।

स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थचौकी बनाउने भनिएको छ । पर्यटनतर्फ देवदहको उत्खन्नन गरी बुद्ध मावलीलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्