काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्लाहीका विभिन्न क्षेत्रमा ‘बागी’ उम्मेदवारी दिने नेता र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको निर्णयविपरीत स्वतन्त्र रुपमा ‘बागी’ उम्मेदवारी दिने ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको माओवादी केन्द्रको मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जानकारी दिए ।
कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार रहेका छन् भने ६ जना उनीहरुका प्रस्तावक तथा समर्थक रहेका छन् । बागी उम्मेदवारी दिने नेताहरुमा राजनकुमार श्रेष्ठ, जवाहारलाल कुशवाहा, महेन्द्र राय, श्रीचन राय र अनिता देवी रहेका छन् ।
त्यसैगरी बागी उम्मेदवारहरुको प्रस्तावक तथा समर्थक बस्ने भूपेन्द्रमान श्रेष्ठ, रामबाबु राय, जितलाल राय, कपल सहनी, रामबचन राय र उपेन्द्र यादवलाई पनि माओवादीले पार्टीबाट निष्कासन गरेको छ ।












