Logo
Logo

अब भारतमा पनि अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा उपलब्ध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । त्यसैगरी गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ ।

हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा २०७६ भदौ २० देखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो । अब उप्रान्त नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नुहुनेछ ।

भदौ १९ सम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ । जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन् । निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमले जनाएको छ्र ।

यो सेवा सम्बन्धी अन्य जानकारीका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pages/view/intl-roaming-data मा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्