Logo
Logo

नेपालमा चिनियाँ चासो


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षअघि तयार भएको नेपाल–भारत प्रबुद्ध समिति (इपिजी)ले तयार पारेको प्रतिवेदन यो वा त्यो बहानामा बुझ्न आलटाल गरिरहेको समाचारले नेपाली मिडियामा प्रमुखता पाएको छ । यससँगसँगै भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले काठमाडौँ भ्रमण गरेको दुई साता पनि नबित्दै जनवादी जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका छन् ।

नेपालमा सन्धि, सम्झौतामा हस्ताक्षर गर्ने तर, त्यसका कार्यान्वयनमा चासो नदिने परम्परा छ । अब त्यस्तो शैलीले देश अघि बढ्दैन । भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१५ मा चीन भ्रमणमा गएको बेला जति पनि सम्झौता चीन सरकारसँग गरेका थिए, त्यसको कार्यान्वयन वाङको यो भ्रमणमा केन्द्रित गर्नुपर्दछ । प्रधानमन्त्री ओली आफ्नो यस कार्यकालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन सके भने त्यो उनको सफलता हुनेछ र नेपाललाई समृद्ध नेपाल, सुखी नेपाल बनाउने जुन उनको सपना छ त्यो विपनामा परिणत हुनेछ । यसमा कुनै सन्देह छैन ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार वाङको यो भ्रमण पाकिस्तानको राजधानी इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भई नयाँदिल्लीको भ्रमणपश्चात काठमाडौँ आउने कुरा थियो । तर भारत–पाकिस्तानको द्वन्द्व, भारतीय राज्य कश्मिरको बदलिएको स्थिति तथा कश्मिर मामिलामा भारतले चीनबाट चाहेको समर्थन प्राप्त नभएको सन्दर्भ र पाकिस्तानपछि भारत भ्रमण हुने भएकाले भारतले चीनलाई वाङको भ्रमण तालिका परिवर्तन गर्न अनुरोध गरेको थियो । नयाँ परिस्थितिमा वाङ इस्लामावादबाट दिल्ली पाइला नटेकी सोझै काठमाडौँ आएका हुन् ।

वाङको दिल्ली भ्रमण आगामी अक्टोबरमा भारतमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भनिएको उहान–२ मामलापुरम (चेन्नई, भारत) वार्ताको पूर्वतयारी सुनिश्चित गरिनु थियो । भारतले सी–मोदीबीच अक्टोबर ११–१३ तमिलनाडु राज्यको चेन्नई नजिक मामलापुरममा निश्चित गरेको उहान–२ अनौपचारिक बैठक चिनियाँ विदेशमन्त्री वाङ यीको नयाँदिल्ली भ्रमण हुन नसक्नाको कारणले गर्दा राष्ट्रपति सीको भारत भ्रमणमै असर पर्ने हो कि भनेर आशंका व्यक्त गरिएको छ । त्यस्तो हुन गएमा निश्चितरुपम राष्ट्रपति सीको हुने भनिएको नेपाल भ्रमणमा असर पर्नेछ । किनभने राष्ट्रपति सी भारत जाँदा वा चीन फर्कदा नेपाल भ्रमण गर्ने अपेक्षा नेपालले गरेको छ ।

चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण पनि राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमणलाई टुंगोमा पु¥याउनकै निम्ति भएको हो । अहिले विश्वमा सबभन्दा धेरै ठूलो सुरक्षा चुनौती राष्ट्रपति सीलाई भएको मानिन्छ । राष्ट्रपति सी कहिले पनि कुनै पनि मुलुकमा भ्रमणका लागि भ्रमण गर्दैनन् । उनले गत वर्ष बंगलादेश भ्रमण गर्दा ३७ विलियन डलर सहयोगको घोषणा गरेका थिए ।

वाङ खारिएका विश्वका कूटनीतिज्ञमध्ये एक हुन् । उनी विदेशमन्त्री मात्र नभएर उपप्रधानमन्त्री सरहको स्टेट काउन्सिलर पनि हुन् । यो भन्दा पहिले उनले २०१५ मा नेपाल भ्रमण गरेका थिए ।

वाङको नेपाल भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ सुयङले शुक्रबार बेइजिङमा पत्रकारमाझ भने– ‘नेपाल र चीन पछिल्ला वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत हिमालय वारपार बहुआयामिक सञ्जाल विस्तारका क्षेत्रमा काम गरिरहेको हुनाले मन्त्री वाङको यस भ्रमणले दुई देशबीच यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिनेछ ।

चिनियाँ राष्ट्रपति सीको विश्वका सबै मुलुकलाई समृद्ध बनाउने (विन विन) महत्वाकांक्षी परियोजनामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरी सामेल भइसकेको हुनाले यस परियोजनाअन्तर्गत मुलुकको भाग्यरेखा नै परिवर्तन हुने परियोजनाको छनोट गरी कार्यान्वयनतर्फ लैजानु पर्दछ ।

नेपालमा सन्धि, सम्झौतामा हस्ताक्षर गर्ने तर, त्यसका कार्यान्वयनमा चासो नदिने परम्परा छ । अब त्यस्तो शैलीले देश अघि बढ्दैन । भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१५ मा चीन भ्रमणमा गएको बेला जति पनि सम्झौता चीन सरकारसँग गरेका थिए, त्यसको कार्यान्वयन वाङको यो भ्रमणमा केन्द्रित गर्नुपर्दछ ।

प्रधानमन्त्री ओली आफ्नो यस कार्यकालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन सफल हुन सके भने त्यो उनको सफलता हुनेछ र नेपाललाई समृद्ध नेपाल, सुखी नेपाल बनाउने जुन उनको सपना छ त्यो विपनामा परिणत हुनेछ । यसमा कुनै सन्देह छैन ।

[email protected]

 

 

प्रतिक्रिया दिनुहोस्