काठमाडौं । मधेशी आयोगले केही प्रतिनिधिसभा सदस्यले ‘मधेशी भाषा’मा शपथ गराएकामा संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
बिहीबार संसद भवनमा जनमत पार्टीका सांसद सीके राउतसहित केही प्रतिनिधिसभाका सदस्यहरुले ‘मधेशीभाषा’ शपथ लिएका थिए । तर, मधेशी आयोगले हालसम्म भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सूचीकृत नभएको देखिएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण साध्दै शुक्रबार पत्र पठाएको हो ।

‘हालसम्म भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सूचीकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधिसभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ’ आयोगकी उपसचिव सविता डंगोलले पठाएको पत्रमा भनिएको छ ।
साथै, संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुनेगरी जानकारी गराइदिन समेत आयोगले आग्रह गरेको छ ।
मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले भाषा आयोग र मधेशी आयोगमा मधेशी भाषा भन्दै कहीँ सूचीकृत नभएको बताएका छन् । मधेशी समुदायले बोल्ने भाषा मैथिली, भोजपुरी र अवधि भएको भन्दै उनको प्रश्न छ, ‘मधेशी भाषा कहाँबाछ आयो ?’












